काठमाडौं- बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा खिमलाल देवकोटालाई मतदान गर्न नेकपा (माओवादी केन्द्र)ले आफ्ना मतदाताहरूलाई निर्देशन दिएको छ।
सोमबार माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटा देवकोटाका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।
माओवादी केन्द्रले नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका आफ्ना पूर्वनेता रामबहादुर थापा ‘बादल’लाई भने ‘प्रतिगमनकारी तत्वको मतियार’ भनेको छ। बादल गणतन्त्र, संघीयता र संविधान विरोधी गतिविधिमा लागेको माओवादीको आरोप छ।
संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रिय सभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्ति देवकोटा नै भएकाले विजयी गराउन माओवादीको अपिल छ।
‘बागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षको साझा उम्मेद्वार बनेका थिए। तर, पछिल्लो समय नेपाल समूह एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग वार्तामा रहेकाले देवकोटालाई मत दिने/नदिने निर्णय गरिसकेको छैन।
यही जेठ ६ गते उपनिर्वाचन हुँदैछ। यसअघि उक्त पदमा निर्वाचित भएका गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो। माओवादीको कारबाही पछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।