काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते (शुक्रबार) लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा ४ वटा रिट दर्ता भएका छन्।
अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टा–छुट्टै रिट दर्ता भएको सर्वोच्च अदालतको रिट महाशाखा प्रमुख बाबुराम दाहालले बताए।
रिटमाथिको सुनुवाइका लागि मंगलवारलाई पेशी तोकिएको छ।
कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिनुपर्ने रिटमा मागदाबी गरिएको छ। यस्तै, संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न तथा त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोक्न पनि रिट निवेदकको मागदाबी छ।
निवेदकहरुले संघीय संसदको सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा दोहोर्याएर मन्त्री बनाइएका ७ जनाको नियुक्ति बदर हुनुपर्ने पनि माग गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले 'प्रतिज्ञा गर्छु' भन्ने शब्दावलीलाई 'त्यो पर्दैन' भनेर वाचन गर्न नमानेर लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको समेत रिटमा जिकिर गरिएको छ।
शपथ र शपथपछि प्रधानमन्त्रीले ७ जना गैरसांसद व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेको कार्यविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गरेका छन्। त्यस्तै खोप खरिद तत्काल गर्न माग गर्दै किर्तिनाथ शर्मा र सागर पौडेलले माक्स, स्यानिटाइजर नि:शुल्क वितरण माग गर्दै रिट दायर गरेका छन्। एकै दिन ६ थान रिट निवेदन दर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।