काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने प्रयास सफल हुन नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचका व्यक्तिका कारण लक्ष्य पूरा हुन नसकेको बताएका छन्।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आजै चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा निधन भएको थियो।
‘तीन वर्ष अगाडि आजैका दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं,’ उनले भनेबा छन्, ‘यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक– आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो।’
कतिपय नेताहरुको विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न नसकेको उनकोृ भनाइ छ। ‘आज नेकपा (एमाले) उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ,’ उनले भनेका छन्, ‘हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौं।’
प्रधानमन्त्री ओलीले मदन–आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय रहेकोसमेत बताएका छन्।
कतिपय विरोधीहरुले नेताद्वयको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणीसमेत गरेको तर सबै अनुमान र भविष्यवाणी गलत सावित भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।