काठमाडाैं- बलिउड अभिनेता सलमान खानले फिल्म 'राधे: योर मोस्ट वान्टेड भाइ' पाइरेसी गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन्।
उनले सामाजिक सञ्जालमा ट्वीटरमा एक स्टाटस लेख्दै फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन्।
राधे इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। तर, केही घण्टामा नै फिल्म पाइरेसी भएको थियाे।
'हामीले फिल्म राधे २४९ रुपैयाँमा हेर्नेगरी ल्याएका थियौं। तर, पनि फिल्म पाइरेसी भइरहेको छ। जुन गैरकानुनी अपराध हो,' सलमानले लेखेका छन्।
उनले कसैलाई पनि पाइरेसीको हिस्सा नबन्नसमेत आग्रह गरेका छन्।
'साइबर सेल गैरकानुनी रुपमा फिल्मको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ। साइबर सेलले तपाईंविरुद्धमा कडा कदम चाल्नेछ। प्लिज, सम्झिनुहोला तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ,' उनले लेखेका छन्।
फिल्ममा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डाको मुख्य भूमिका छ। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन्।
सलमान यस फिल्ममा इन्काउर स्पेशलिस्टको भूमिकामा छन्। सन् २००९ मा बनेको फिल्म वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए। वान्टेडकै केही डाइलग यस फिल्ममा पनि सलमानले दोहोर्याएका छन्। त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो।
फिल्ममा सलमानले पहिलोपल्ट किस सिन पनि दिएका छन्। मुखमा टेप लगाएर नायिका दिशा पटानीसँग गरेको किस सिनले सञ्चारमाध्यममा राम्रो ठाउँ पाएको थियो।
दिशालाई याे फिल्ममा निकै ग्लामरस र स्टाइलिस लुकमा देख्न सकिन्छ भने सलमान पनि ड्यासिङ लुकमा छन्। यस फिल्ममा ज्याकी श्राफको पनि अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।