काठमाडौं-आज म तपाईंहरूलाई रस्किन बण्डले लेखेको स्टोरी ‘द फोटोग्राफ’ भन्न जाँदै छु।
एकादेशमा करिब ११-१२ वर्षको एउटा केटा हुन्छ। उसले एउटा पुरानो एल्बम हेरिरहेको हुन्छ। एल्बममा आफ्नै उमेरकी केटीको फोटो देख्छ। उसलाई त्यो केटी को होला भनेर निकै खुलदुली हुन्छ। अनि हजुरआमालाई फोटोमा भएको केटी को हो भनेर सोध्छ।
हजुरआमाले सुरूमा त थाहा नभएको बताउँछिन्। धेरै कर गरेपछि नाम त भन्दिनन् तर ‘यो केटी म तिमीजत्तिकै उमेरको हुँदाको मेरो साथी हो’ भन्छिन्।
केटाले ती केटीको बारेमा थप कुरा बताउन हजुरआमासँग आग्रह गर्छन्। केटाले कर गरेपछि केही कुरा बताउन हजुरआमा तयार हुन्छिन्। हजुरआमाले ती केटी मड्डी पुलमा लुगा नै नलगाइ स्वीमिङ गर्ने, भैँसीमाथि चढ्ने गर्थी भन्ने सुनाउँछिन्।
जति नाम भन्न कर गर्दा पनि हजुरआमाले त्यो केटीको नाम भन्दिनन्। तर, केटालाई थाहा भइसकेको हुन्छ त्यो फोटोको केटी को हो भनेर। किनभने, हजुरआमाको स्माइल र त्यो केटीको स्माइल उस्तै थियो।
फेसबुक लाइभमा आजपा लोहनीले सुनाएको कथा हो यो। उनी आफूले पढेका किताब र त्यसमा रहेका कथा बाबु राम लोहनीको सहायताले फेसबुकमा सुनाइरहन्छिन्।
आजपाको कथा भन्ने शैली निकै आकर्षक छ। त्यसैले लाइभमा उनका कथा सुन्नेहरू थुप्रै हुन्छन्। कहिले नेपाली भाषाका किताब त कहिले अंग्रेजी भाषाका किताबमा उनी रमाइरहेकी हुन्छिन्।
०००
आजपा अन्य बच्चाभन्दा फरक छिन्। बालबालिका भिडियो गेम र कार्टुनमा रमाइरहेका बेला उनी भने किताबका बालकथामा घोरिइरहेकी हुन्छिन्। आजपासँगै उनकी दिदी अपरालाई पनि किताब पढ्न निकै मनपर्छ। उनी आख्यानसँगै गैरआख्यान विधाका किताब पनि पढ्छिन् र फेसबुक लाइभमा सुनाउँछिन्।
यी दिदीबहिनीको किताबसँगको प्रेम र लगाव देखेर फेसबुक लाइभमा आउनेहरू सबैले सकारात्मक प्रतिक्रिया दिने गरेका छन्। यी दुईले देश खाने अनुमान पनि प्रतिक्रियामा देख्न सकिन्छ। कतिपयले भने आफ्ना बच्चा पनि त्यस्तै किताब पढ्नेखालका बनाउन पाए हुन्थ्यो भन्ने विचार राखेको देख्न सकिन्छ।
फेसबुकको लाइभमा प्रतिक्रिया दिने मात्रै हैन, धेरै अभिभावकलाई यही चिन्ता छ- मेरो बच्चाले त फिटिक्कै किताब हेर्दैन। जतिखेरै मोबाइल मात्रै खोजिरहन्छ।
कोभिड-१९ महामारीले गर्दा स्कूलको पढाइसमेत ‘भर्चुअल’ हुने भएकोले बालबालिकामा मोबाइल/ल्यापटपको पहुँच बढेको छ। जसबाट अभिभावकहरूमा भने चिन्ता थपिएको पाइन्छ।
यस्तै अभिभावकमध्येमा पर्छिन् काठमाडौं कुलेश्वरकी मनिता सिटौला। सात वर्षीय छोरा सुमितको मोबाइल मोहले उनी हैरान भइसकेकी छिन्। ‘छोरालाई मोबाइल धेरै चलाउन हुँदैन भन्यो भने मिसभन्दा तपाईं जान्ने हो र? भनेर उल्टै प्रश्न गर्छ,’ उनले भनिन्, ‘हरेक कुरा नगर भन्दा मिस जान्ने कि तपाईं? मिसले मोबाइल हेर भनेको छ, मिसले ल्यापटप हेर भनेको छ भनेर जवाफ फर्काउँछ। दिक्क लागिसक्यो।’
अनलाइन कक्षाले गर्दा छोरा किताब छुनै नमान्ने बनेको उनको भनाइ छ।
मनिताले जस्तो समस्या सुनाउने अभिभावक अहिले धेरै भेटिन्छ। अधिकांश अभिभावकको गुनासो छोरा/छोरी मोबाइलले बिगार्यो, किताब पढ्नै चाहँदैनन् भन्ने हुन्छ। यो समस्या अहिले यथार्थमै बढिरहेको पाइन्छ।
त्यसो भए कसरी बच्चालाई किताब पढ्ने बनाउने त?
‘मैले मेरा दुई छोरीलाई कथा भनेरै हुर्काएँ। आफैं कल्पना गरेर धेरै दिनसम्म नसकिने कथा बालबालिकालाई भनिदिँदा उनीहरूलाई कथाको लत लाग्छ,’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका आजपाका बाबु राम भन्छन्, ‘यसो गर्नाले उनीहरूको कल्पनाशीलता बढ्छ।’
अहिले मोबाइलको लत बसेजस्तै लोहनीका छोरीहरूलाई कथा सुन्ने लत बस्यो। उनीहरू खाना खाने बेलामा कथा नसुनी नखाने, सुत्ने बेलामा पनि कथा नसुनी ननिदाउने स्वभावका भए।
कथा सुन्ने बानी परिसकेपछि लोहनीले छोरीहरूलाई ‘अब सुनाउन समय मिलेन आफैं पढ’ भनेर किताब ल्याइदिन थाले। उनीहरूले कथाको भोक मेटाउनकै लागि पढ्न थाले। त्यसपछि क्रमशः उनीहरू किताबमोहमा डुब्दै गए। अहिले आजपा नैतिक शिक्षा भएका कथाका किताबमा रमाउँछिन् भने अपरालाई एड्भेन्चर र फेन्टासी भएका उपन्यास पढ्न मनपर्छ।
उनै प्राध्यापक लोहनीले बालबालिकालाई किताबमा लगाव लगाउने केही उपाय सुझाएका छन्।
अभिभावक आफैं पढ्ने गर्नुहोस्
अधिकांश अभिभावक आफू मोबाइल र टिभीमा रमाउने अनि बालबालिकालाई मात्रै पढ् भन्ने गर्छन्। यसो गर्दा उनीहरू आफूलाई पढाइमा ‘इम्पोज’ गरेको ठान्छन्। त्यसैले बालबालिकासँगै मिलेर अभिभावकले पनि पढ्नुपर्छ। उनीहरूसँगै पढ्ने अनि बच्चाले त्यसलाई कसरी बुझिरहेको छ छलफल गर्ने।
बच्चाको कुरा सुन्ने धैर्यता अभिभावकमा हुन एकदमै जरुरी छ। अभिभावक आफैं पढेको देखेर नै पढ्न जरुरी रहेछ भन्ने कुरा बालबालिकाले सिक्छन्।
किताब किन्न कञ्जुस्याईं नगर्नुहोस्
अधिकांश अभिभावक बालबालिकाको किताब किन्न कञ्जुस्याईं गर्छन्। किताबको कुरा छाडौं कपडासमेत उनीहरूलाई ठूलो हुने किनिदिन्छन्। नयाँ कपडा ठीक हुँदैन, ठीक हुँदा पुरानो भइसकेको हुन्छ। यस्ता सानातिना कुराले पनि बालबालिकामा प्रभाव पार्छ।
बालबालिकाको किताब महँगो हुन्छ। ठूला अक्षर, रंगरोगन त्यस्तै र चित्र पनि आकर्षक बनाउनुपर्ने भएकाले किताब महँगो पर्न जान्छ। एक घण्टामा सकिने किताबलाई धेरै पैसा तिर्न मन मान्दैन। तर, बच्चाको भविष्यका लागि उनीहरूले पढ्ने किताब किनिदिन जरुरी छ।
थाहा नभएका कुरा थाहा छैन भन्नुहोस्
बालबालिकाको अगाडि थाहा छैन भन्न अभिभावकले सक्दैनन्। उनीहरूलाई आफैंले जन्माएको बच्चा बाठो भएको पनि मन पर्दैन र उनीहरूको अगाडि कमजोर बन्न मन पनि लाग्दैन।
आजभोलिका बालबालिका तीक्ष्ण दिमागका हुन्छन्। हामीले कहिल्यै नसोचेका कुराहरूमा पनि प्रश्न गरिदिन्छन्। यस्तो समयमा उनीहरूको कुरा ‘इग्नोर’ गर्ने हैन। उनीहरूलाई ‘मलाई थाहा भएन, तिमी थाहा पाएर भन है’ भन्नुपर्छ। हामीले बालबालिकालाई पढाउने हैन, उनीहरूबाट सिक्ने मानसिकता बनाएका बालबालिका उत्प्रेरित हुन्छन्। नयाँ कुरा खोज्न थाल्छन्, जसका लागि पढ्ने बानी बस्छ।
बालबालिकाको कुरा सुन्नुहोस्
हामी अभिभावकले गर्ने सबैभन्दा ठूलो गल्ती भनेको आफ्ना बच्चाको कुरा नसुन्नु पनि हो। उनीहरू कुरा सुनोस् भन्ने चाहन्छन्।उनीहरूसँग प्रश्न नै प्रश्न हुन्छ। उनीहरू हरेक कुरा सोध्न चाहन्छन्। यस्तो समयमा अभिभावक आफैं मोबाइलमा व्यस्त हुने, टेलिभिजनमा डुबेर बस्ने गर्दा उनीहरू निराश बन्छन्। उनीहरू छिट्टै ठूलो मानिस हुन चाहन्छन्। ठूला मानिस नै मोबाइल र टीभीमा डुब्दा बालबालिकाले पनि त्यसैको सिको गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।