काठमाडौं– कोरोना भााइरस संक्रमणको 'चेन ब्रेक' गर्ने भनेर जारी निषेधाज्ञामा समेत यात्रु ठगी गर्ने क्रम रोकिएको छैन। यात्रु ठगिन थालेको भनेर गुनासो आउन थालेपछि महानगरीय प्रहरी ट्राफिक महाशाखाले सादा पोशाकमा प्रहरी परिचालन गरेर ठगी विरुद्धको अपरेशन चलाइरहेको छ।
बिशेष अपरेशन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ । निषेधाज्ञा यता ट्राफिक प्रहरीले बढी भाडा लिइ यात्रु ठगी गर्ने कार्यमा संलग्न ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको जनाएको छ।
ठगी गर्नेविरुद्धको अपरेशन टोलीले वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।
‘निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिने गिरोहलाई कारबाहि गर्न छुट्टै डेडिकेटेड अपरेशन टोली परिचालन गरेका छौं, टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निग्रानी गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ्ग गर्ने र ठगी गरेको पाइकाले पक्राउ गरेका छौ', महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले भने ।
गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिँदै आएको एसएसपी भट्टराईको भनाइ छ। बढी भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिने उनको भनाइ छ।
पछिल्लो समय टिकट काउन्टरका कर्मचारी नै यात्रु ठगी गर्ने कार्यमा संलग्न भएको पाइएको समेत उनले बताए ।
निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ ।
बिहीबार बिहीबार मात्रै यात्रु ठगी गर्ने ५ जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षीय अनिल बिक, बर्दिया गेरुवाका बर्ष ३७ का कृष्ण चौधरी र सोही स्थानका ३५ वर्षीय बल बहादुर थारुलाई पक्राउ गरी प्रहरी बृत्त बालाजुमा बुझाएको छ ।
दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग प्रति ब्यक्ती ३ हजारदेखी ४५ सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ परेका हुन् ।
बारा जाने यात्रुहरुसँग दोब्बर बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ वर्षीय अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका बर्ष २५ का अफताब आलमलाई पक्राउ गरि आवश्यक कारबाहीको लागी प्रहरी बृत्त स्वयम्भूमा बुझाइएको पनि महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।