काठमाडौं– नेपाली कांग्रेसका सांसद मानबहादुर विकले अर्थमन्त्रीले श्वेतपत्रमार्फत सदनमा झुट बोलेको आरोप लगाएका छन्।
बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले श्वेतपत्रमार्फत आएको तथ्यांक र राष्ट्र बैंकको तथ्यांक फरक परेकोमा अर्थमन्त्रीको आलोचना गरे।
'अर्थमन्त्रीले श्वेतपत्रमार्फत देशको आर्थिक अवस्था टाट पल्टिएको छ भन्नुभएको छ। अर्कोतर्फ राष्ट्र बैंकले राष्ट्र बैंकमा ३ खर्ब रुपैयाँ भएको र त्यसले तरलता उब्जाएको भनिएरहेको छ। यी दुई मध्येमा झुट को बोलेको छ?' विकले प्रश्न गरे, 'राष्ट्र बैंक एउटा संस्था हो, ऊ झुट बोल्न सक्दैन। तर अर्थमन्त्रीलाई झुट बोल्न किन पर्यो? अर्थमन्त्रीले सदनलाई किन गुमराह गर्नुपर्ने? सभामुख मार्फत म जानकारी चाहन्छु– सदनलाई किन झुट बोलियो?'
विकले नीति तथा कार्यक्रम पेश गर्ने बेला राष्ट्रपतिको सम्बोधनलाई लिएर आलोचना गरे। 'प्रतिनिधिसभा सार्वभौम भएको छ। यसका प्रमुख सभामुख एउटा संस्था हो, राष्ट्रियसभाका अध्यक्ष पनि एउटा संस्था हो। उहाँहरुलाई पूर्वराष्ट्रपति रामवरण यादवले सभामुख वा संस्थाको सम्मान गर्नुपर्ने तर हालका राष्ट्रपतिले सम्मान गर्नुनपर्ने यो कस्तो सुपरेटिभ कम्प्लेक्स हो? मैले बुझ्न सकिनँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।