काठमाडाैं- नायिका तथा निमात्री रेखा थापाले कोभिड-१९ महामारीको अवस्था सामान्य नबनेसम्म फिल्म नबनाउने बताएकी छन्। कोभिड-१९ महामारीका कारण अहिले फिल्म अहिले दर्शकको प्राथमिकतामा नरहेको उनको भनाइ छ। यतिखेर फिल्मभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकोमा उनले जोइन्।
'कोभिड-१९ का कारण यतिखेर दर्शकको प्राथमिकतामा फिल्म छैन, जबसम्म यो अवस्था रहन्छ, नयाँ फिल्म बनाउँदिन,' नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफ-२०२१ को छलफल कार्यक्रममा बोल्दै उनले भनिन्, 'यतिखेरको प्राथमिकता फिल्म बनाउनेभन्दा गरिब, मजदुर जनताको गाँसबासको व्यववस्था गर्ने हो।'
गत वर्ष वैशाख १ गतेदेखि फिल्म छायांकनमा जाने उनको योजना थियो। तर, चैत ११ गतेबाट लकडाउन भएयता अहिलेसम्म रोकिएको उनले बताइन्। 'फेरि अहिलेको वैशाख ७ गतेदेखि छायांकनमा जाने भन्ने थियो, फेरि लकडाउन भयो। अब कोभिड र यसले निम्त्याएका समस्याले पार नपाएसम्म फिल्म बनाउँदिन।'
डिजिटल माध्यमबाट फिल्म देखाउन सकिने पनि यो सबैको पहुँचमा नभएको उनले बताइन्। 'डिजिटल प्लाटफर्म वैकल्पिक माध्यम हो तर यो सबैको पहुँचमा छैन। जो हलमा आएर नेपाली फिल्मलाई माया गर्छन् ती दर्शक डिजिटल माध्यमबाट टाढा छन्,' उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।