काठमाडाैं- औपचारिक विभाजन भइनसके पनि व्यवहारतः तीन टुक्रामा विभाजित रहेको नेकपा एमालेलाई एकतावद्ध पार्न भन्दै दोस्रो तहका नेताहरु दुई दिनयता एकाएक सक्रिय बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेपछि चिरा परिसकेको एमालेलाई फेरि सग्लो पार्न कस्सिएका उनीहरुको पहलले कुनै मूर्तरुप भने पाइसकेको छैन।
प्रधानमन्त्री ओली आफ्नो पार्टी एमालेबाटै कुल १२१ मत पाउन नसक्ने देखेपछि उनी आफै यसमा सक्रिय भएका छन्, निकट नेताहरुलाई पनि युद्धस्तरमा परिचालन गरेका छन्। उनीहरु सबैको जोड वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउनमा केन्द्रित छ। त्यसको कारण हो, ओली सरकार जोगिन वा यसको विकल्पमा अर्को सरकार बनाउन निर्णायक भूमिका नेपालपक्षकै देखिनु।
केही दिन अघिसम्म जनता समाजवादी पार्टी (जसपा)लाई अहिलेको सरकार जोगाउने या नयाँ सरकार बनाउने प्रमुख चाबी मानिएको थियो। त्यसबीचमा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष ओलीसँगै नजिकियो। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विरुद्ध उभिए पनि ठाकुर र महतो ओलीसँगै सत्तासहकार्य गरेर अघि बढ्नेमा देखिए।
रोचक के भइदियो भने ठाकुर र महतोका पक्षमा रहेका जति सांसदले ओलीलाई मत दिँदा सरकार जोगिन्छ वा उनको विकल्पमा अर्को सरकार बन्न सक्दैन, त्यति नै मत एमालेकै नेपाल पक्षका सांसद्हरुले फ्लोर क्रशमार्फत् हाल्ने वासामुहिक राजीनामा दिने चुुनौती देखिएपछि प्रधानमन्त्री ओली हच्किएका हुन्। त्यसपछि नै ओलीले आफैले पार्टी छाडेर गए हुन्छ भनेर सार्वजनिक रुपमै दुत्कारेका नेपालसँग संवादको सिलसिला अघि बढाएका छन्।
जसपाबाट महन्थ–राजेन्द्र पक्षले १३ भन्दा बढी सांसद पु¥याउन नसक्ने, बरु त्यति नै संख्यामा नेपालपक्षका सांसदको मत नआउने (बरु विपक्षी गठबन्धनमा जाने) संकेत पाएपछि ओली सकेसम्म सरकार जोगाउन, नभए पनि विपक्षी गठबन्धनको सरकार बन्न नदिन तत्कालका लागि एमाले मिलाउने प्रयासमा जुटेका हुन्। उता जसपाको महन्थ–राजेन्द्र पक्ष आफूले चाहेर मात्र ओली सरकार नजोगिने भएपछि कतै मत नदिएर तटस्थ बस्ने तयारीमा लागेको छ।
एमाले मिलाउन प्रयत्नरत सारथीहरु
चिरा परिसकेको एमालेलाई मिलाउन भन्दै प्रधानमन्त्री ओलीको पक्षबाट अर्थमन्त्री विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल सक्रिय छन्। त्यस्तै नेपालपक्षबाट स्थायी कमिटी सदस्य घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट लागिपरेका छन्। यो समूहबाट सुरेन्द्र पाण्डे पनि सक्रिय छन्।
यतिबेला एमाले मिलाउने दबाब सबभन्दा धेरै प्रधानमन्त्री ओलीमाथि बढेको छ। एकातिर नेपालपक्षले साथ नदिए आफ्नो सरकार कुनै हालतमा नजोगिने अवस्था आएको छ भने अर्कोतर्फ पार्टीभित्र सबैलाई मिलाउनुपर्ने दबाब छ। शुक्रबार गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले सार्वजनिक रुपमै यसका निम्ति सामूहिक अपिल गरेका छन्। यहीकारण नेपाल र उनीनिकट नेताहरुलाई भेट्न दुई दिनयता ओलीले निरन्तर आफ्ना दूत पठाइरहेका छन्।
ओलीले विश्वासको मत लिने निर्णय गरेपछि ओली नेपालवीच प्रत्यक्ष भेटघाट नभएपनि टेलिफोन संवाद भएको छ। बिहीबार ओलीले नेपाललाई टेलिफोन गरी आफूलाई साथ दिन आग्रह गरेका थिए। त्यसअघि नेपाल संयुक्त सरकारको नेतृत्व लिनका लागि आग्रह गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए। त्यहाँबाट उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गए। राष्ट्रपतिकै पहलमा ओलीसँग उनको टेलिफोन संवाद भएको बताइन्छ।
बिहीबार दिउँसो ओली क्याबिनेटका महत्वपूर्ण सदस्य, अर्थमन्त्री विष्णु पौडेलले सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसंग काठमाडौको नागपोखरीस्थित होटल मेरियट होटलमा छलफल गरेका थिए।
शुक्रबार समेत एमाले मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भए। प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारसमेत रहेका एमाले केन्द्रीय सदस्य मोतीलाल दुगड वरिष्ठ नेता नेपाललाई फकाउन शुक्रबार दिउँसो उनकै निवास कोटेश्वर पुगेका थिए। त्यसपछि उनी नेपालनिकट नेता सोमप्रसाद पाण्डेसहित बालुवाटार गएका थिए। शनिवारसम्म ओली र नेपालवीच भेटघाट भई विषयकेन्द्रित छलफल हुने दाबी दुगडले गरे। धेरै कुरा मिलिसकेको दाबी गर्दै दुगडले २७ गतेअघि नै परिणाम आईसक्ने बताए।
‘दुई नेतावीच धेरै कुरा मिलिसकेको छ। पार्टी एकता जोगाएर जानुपर्छ भन्नेमा दुबै नेता कन्भिन्स हुनुहुन्छ। कुन ग्राउण्डमा रहेर कुरा गर्ने भन्ने कुरा मिलिसकेको छ, अब दुई नेता भेट्दा कुनै पूर्व सर्त राखेर भेट्नुहुन्न’, नेपालसँगको भेटपछि दुगडले भने, ‘यसअघि आ–आफ्नो कन्डिसन राखेर भेट्नुभयो। त्यसैले कुरा मिलेन। अब कन्डिसन नराखौ संवाद गरौ अरु कुरा मिलाउँदै जाउँ भनेका छौ।’ एमालेलाई एक बनाउन पूर्वाग्रह र पूर्वसर्त नराखी पूराना तिक्तता विर्संदै जानुपर्ने दुगडले बताए।
नेपालपक्षले फागुन २८ गते भएको भनिएको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नुपर्ने र पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएको छ। यस्तै अडान नेपालपक्षका नेता घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले शुक्रबार बालुवाटारको छलफलमा पनि राखेका छन्। विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसँग साढे दुई घण्टासम्म छलफल भएपनि कुनै निष्कर्ष ननिस्केको र फेरि भेट्नेगरी छुट्टिएको नेताहरुले बताएका छन्।
‘दुबैपक्षका नेताहरुवीच गम्भीर रुपमा छलफल भयो। पार्टीलाई एकतावद्ध बनाउन लागिपरौं भन्नेमा छलफल केन्द्रित रह्यो। छलफल टुंगिएको छैन, भेटघाटलाई निरन्तता दिने भन्ने भएको छ’, छलफलपछि नेम्वाङले भने।
एमाले एक बनाउन दोस्रो तहका नेता मात्रै होइन, जिल्ला अध्यक्षहरुको पनि सक्रियता बढेको छ। गण्डकी प्रदेशका ११ जिल्लाका अध्यक्षहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीलाई एकतावद्ध बनाउन अपिल गरेका छन्। एमाले मिलाउन नेता कार्यकर्ताले समेत एकपछि अर्को गर्दै दबाब बढाउन थालेका छन्।
नेपालपक्षले एकीकृत र एकतावद्ध एमाले बनाउन २०७५ जेठ २ मा पार्टीका सम्पूर्ण कमिटी फर्काउनु पर्ने र गत फागुन २८ गतेको निर्णय फिर्ता हुनुपर्ने अडान राखेको छ। नेपालपक्ष आफ्नो अडानबाट पछाडि हट्ने सम्भावना अहिलेसम्म देखिएको छैन। तर, ओलीपक्षका नेता, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले मिलाउन दुबै पक्षका नेताहरु राखेर कार्यदलबाट समाधान खोज्न सकिने बताए। प्रधानमन्त्री ओली एमाले एकताकै पक्षमा भएकाले कार्यदल बनाएर जाने उपयुक्त विकल्प हुन सक्ने भट्टराईले दाबी गरे।
‘देशभर दुबै पक्षका पुराना एक खालका संरचना छन्, दुबै पक्षका नेताहरु सम्मिलित कार्यदल बनाउने र एक किसिमको भागवण्डा गरेर मिलाउनुपर्छ। कार्यदलले दिने रिपोर्ट लागू गरेर जान सकिन्छ’, भट्टराईले भने, ‘पदाधिकारी खारेज भईसकेको छ। स्थायी कमिटीमा उहाँहरु पनि हुनुुहन्छ। बादल पक्षका २३ जना केन्द्रीय सदस्य यथावत राखेर अरु गर्ने हो भने एकता जोगिन्छ।’
तर, नेपालपक्षका नेता जगन्नाथ खतिवडाले भने केपी ओलीलाई माधव नेपाल नभएर उनीपक्षका सांसद मात्रै चाहिएकाले एमालेमा समस्या उत्पन्न भईरहेको टिप्पणी गरे। एमाले एक बनाउन जेठ २ मा फर्काउने र फागुन २८ गतेको निर्णय फिर्ता लिने हो भने केही समस्या नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।