रोल्पा– गत वैशाख १३ देखि १६ गतेसम्म भएको आगलागीबाट घरसम्पत्ति गुमाएका रोल्पा त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका २९ घरपरिवार विचल्लीमा परेका छन्। आगलागीबाट घर गुमाएका उनीहरु अर्काको घरमा आश्रय लिन वाध्य छन्।
‘आगलागीमा परी ३१ परिवारले बस्नै नमिल्ने गरी घर गुमाएका थिए। तीमध्ये ३ परिवारको दाङमा समेत घर भएकाले त्यतै बसे पनि बाँकी २९ अर्काको घरमा आश्रय लिएर बस्न वाध्य छन्,’ त्रिवेणी गाउँपालिका वडा नं. २ का वडा सदस्य धवहादुर बस्नेतले भने।
सबै सम्पत्ति गुमाएका उनीहरुमाथि केही दिन यता परेको अविरल वर्षाले झनै पीडा थपिएको छ। घरसँगै घरमा रहेका सबै लत्ताकपडा, अन्नपात र नगद नष्ट भएपछि अर्काको घरमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलव्ध भएपनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रोल्पा उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले हालसम्म राहत हस्तान्तरण गरेको वडासदस्य बस्नेतले जानकारी दिए। ‘केही खाद्यन्न र लत्ता कपडा उपलव्ध भएपनि घर गुमाएका उनीहरुको दैनिकी निकै कष्टकर देखिन्छ,’ बस्नेतले भने।
आगलागीबाट रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, वर्तिवाङ तथा रुन्टीगढी गाउँपालिका–९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए।
आगलागीबाट पशुचौपायासमेत जलेर नष्ट भएका थिए। लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले प्रयास गरेका थिए। ४ दिनसम्म लागेको आगो वर्षा सुरु भएपछि भने नियन्त्रणमा आएको थियो।
आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुने गरेकाे छ। भिरालो जमिन र सल्लाको वन भएका कारण रोल्पाका वन क्षेत्र आगलागीको उच्च जोखिममा रहेको छ।
रोल्पामा ४५ प्रतिशत सल्लाको वन र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालय रोल्पाको तथ्यांक छ। रोल्पामा हुने अधिकांश आगलागी मानवीय कारणबाट हुने गरेकाे डिभिजन वन अधिकृत दधिलाल कँडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।