काठमाडौं- यतिबेला विश्व कोरोना महामारीको संकटसँग जुधिरहेको छ। कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नियन्त्रण तथा राेकथामका लागि धेरै देशले लकडाउन जारी गरेका छन्। त्यही सूचीमा नेपाल पनि छ।
नेपालमा यतिखेर कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुगेको छ। काठमाडाैं उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। यही कारण मानिसहरु घरबाहिर निस्कन र आफ्नो नियमित काममा लाग्नबाट बञ्चित भइरहेका छन्।
दैनिक संक्रमित थपिएको र कोभिडका कारण मृत्यु भएको समाचारले मानिसहरुमा त्रास सिर्जना गरिरहेको छ। त्यसैले यस्तो बेलामा उत्पन्न हुने नकारात्मक सोचका कारण आफूलाई बचाउन सचेत हुनुपर्छ। घरमा बसेर फुर्सदको समय बिताइरहँदा राम्रा फिल्म हेरेर पनि समयको सदुपयोग गर्न सकिन्छ। त्यसको लागि तपाईंको रोजाइ बन्न सक्छ हलिउड फिल्म ‘द गोल्डेन चाइल्ड’। नेपालमासमेत केही भाग छायांकन गरिएको यो फिल्मले तपाईंलाई पूर्ण मनोरञ्जन दिलाउनेछ।
कथावस्तु
निकै रहस्यमयी बच्चा छ। उसको जादूले मरेको चरासमेत जिउँदो बन्छ। त्यो बच्चाले छुनेबित्तिकै खराब आत्मा राम्रो आत्मामा परिणत हुन्छ। बच्चा तिब्बतको दुर्गम गुम्बामा लामाहरूसँगै बस्छ।
त्यही समयमा अर्को नकारात्मक आत्मा बोकेको रहस्यमयी सर्दो नुम्स्पाको समूहले ती बालकको अपहरण गर्छ। सर्दो नुम्स्पा राक्षसका दूत हुन्छन्। राक्षसले बच्चा अपहरण गर्न र मार्न सुपारी दिएको हुन्छ।
यता हराएका बच्चा खोज्ने समाजसेवी हुन्छन्, चान्डर्लर जेरार्ल। टेलिभिजनमा एक १६ वर्षीया बालिका चार्ली मोस्ले हराएको सूचना दिइरहेका जेरार्ललाई कि नाङले हेरिरहेकी हुन्छिन्। उनैले जेरार्ललाई खोज्छिन् र ‘गोल्डेन चाइल्ड’ हराएको भन्दै खोज्न आग्रह गर्छिन्।
तर, जेरार्ल नाङको कुरा विश्वास गर्दैनन्। तिमी निकै सुन्दर छौं तर अफसोच तिमीलाई मानसिक रोगको डाक्टर आवश्यक छ भन्दै जेरार्लले नाङको कुरा हावामा उडाइदिन्छ।
त्यही समयमा खोजी गरिरहेकी चार्लीको लास फेला पर्छ। उनको शरीरमा खोपेको ट्याटु र उनलाई अपहरण गरेर राखेको स्थान निकै रहस्यमयी हुन्छ। खानामा रगत देखिन्छ भने भित्ताभरी नेपाली अक्षर लेखिएको पनि देखिन्छ। नाङले ती युवतीको अपहरण गर्नेले नै गोल्डेन चाइल्डको पनि अपहरण गरेको हुनसक्ने अनुमान लगाउँछिन्।
नाङ जेरार्ललाई अनौठो स्थानमा लैजान्छिन्। जहाँ चिनियाँ भाषा बोल्ने मान्छेहरू हुन्छन्। त्यही स्थानमा पर्दा पछाडिबाट एक महिला बोल्छिन् र तीन हजार वर्षपछि गोल्डेन चाइल्ड जन्मेको भन्दै उसलाई बचाउनु अनिवार्य रहेको बताउँछिन्।
पछि नाङले ती महिला ३०० वर्षकी लाइब्रेरियन रहेको बताउँछिन्। यी सबै कुराले जेरार्लको दिमागमा चक्कर लगाइदिन्छ।
उनी सोफामा झकाउन पुग्छन्। त्यही समयमा कोठामा एउटा उज्यालो प्रकाश छिर्छ, उनले गोल्डेन चाइल्डको प्रतिमा देख्छन् र चरा पनि। यसले उनी यी कुराहरू विश्वास गर्न बाध्य हुन्छन्।
अर्को सपना पनि देख्छ जेरार्लले। त्यो सपनामा नराम्रो आत्मा भएको नुम्स्पा आउँछ। उसले तिब्बतमा गएर एउटा चक्कु ल्याउन जेरार्ललाई आग्रह गर्छ। साथै, हातमा नङले चक्कुकै निशानासमेत बनाइदिन्छ। सपनामा देखेको निशाना विपनामा पनि देखेर जेरार्ल दंग पर्छ र फेरि लाइब्रेरियन महिलालाई जिज्ञासा राख्न पुग्छ। ती महिलाले अब तिब्बत गएर त्यो चक्कु ल्याउनुपर्ने बताउँछिन्।
सुरूमा जेरार्लले इन्कार गर्छ तर नाङको आग्रह टार्न सक्दैनन्। किनभने, ऊ नाङको प्रेममा पूर्णरूपमा परिसकेको हुन्छ।
तिब्बतका जान नाङ र जोरार्ल काठमाडौं आउँछन्। र, यही बाटोहुँदै तिब्बत पुग्छन्।
विभिन्न परीक्षा पार गरेर जेरार्लले चक्कु हात पार्छ तर अमेरिका लैजाने कसरी? काठमाडौंमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट चक्कु तस्करी गर्न ऊ सफल हुन्छ या हुँदैन? यति धेरै तिकडमबाजी गरेर जेरार्ल गोल्डेन चाइल्डलाई अपहरणमुक्त गराउन सक्ला त?
यी कुरा थाहा पाउन भने फिल्म हेर्नुहोला। फिल्म विभिन्न डिजिटल प्लाटफर्ममा उपलब्ध छन्। आजभन्दा ३४ वर्षअघि प्रदर्शनमा आएको फिल्मले तपाईंलाई निकै हँसाउनेछ। यो फिल्मले त्यो समयको ‘बक्स अफिस’मासमेत तहल्का मच्चाएको थियो।
फिल्ममा नेपाल
फिल्ममा समेटिएको नेपालको दृश्यमा वसन्तपुरमा जाडोको कपडा सपिङ गरिरहेको देखिन्छ। त्यो समयको वसन्तपुर र त्यहाँ रहेका मन्दिर फिल्ममा देख्न सकिन्छ।
फिल्ममा नेपाली भाषा बोलेको पनि सुन्न सकिन्छ। ढाकाको टोपी लगाएका भरियाले जेरार्ललाई ‘कुइरे, तपाईंसँग घडी छ, कति बज्यो भन्नुस् त!’ भन्छन्। फेरि, 'के बोल्छ बुझ्दैन' भन्दै आफ्नो बाटो लाग्छन्।
फिल्मको प्लेनमा बसेको दृश्यमा पनि नेपाली बोलेको सुन्न सकिन्छ। त्यहाँ दुई महिलाले विभिन्न खानेकुरा देखाउँदै यो खानुस्, त्यो खानुस् भनिरहेका हुन्छन्।
फिल्ममा विमानस्थलको रमाइलो दृश्यले निकै हँसाउछ। उनले त्यहाँ नेपालीहरूको निकै तारिफ गरेका छन्।
फिल्मका रोचक कुरा
एक घण्टा ३३ मिनेको फिल्ममा समय बितेको पत्तै हुँदैन। फिल्ममा अभिनय गर्ने रहस्यमयी केटो वास्तवमा केटी हुन्। फिल्म हेर्दा उनी केटी भनेर कमैले अनुमान लगाउन सक्छन्। जस्टिन राइटे नाम गरेकी ती बालिका अहिले ४१ वर्षकी भइन्। उनी फेसन डिजाइनर बनेकी छन्।
फिल्ममा चर्चित हास्यकलाकार, लेखक, गायक तथा निर्माता एडी मर्फीको अभिनय रहेको छ। अभिनयको दुनियाँमा हलिउडमा उनलाई उछिन्ने कलाकार कमै छन्।
उनलाई साथ दिएकी छन् चर्चित नायिका चार्लोट्ट लेविले। यी नायिका १६ वर्षको उमेरमा नायिका बनेकी हुन्। उनलाई डेब्यू फिल्मका निर्माताले यौनदुव्र्यवहार समेत गरेका थिए। आफू १६ वर्षको उमेरमै निर्माताबाट बलात्कारमा परे पनि हरेस नखाइ फिल्ममै लागेकी उनी अझै हलिउडमा सक्रिय छिन्।
यदि, तपाईंलाई हास्य रस भएको फिल्म मनपर्छ र फेन्टासी कथामा बनेको फिल्म हेर्न रूचाउनुहुन्छ भने कोरोनाको समयमा ‘द गोल्डेन चाइल्ड’ गतिलो रोजाइ बन्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।