



अतुल रान्दे जतिबेला जुनियर केजीमा भर्ती भए। उनी आफ्नो स्कुले जीवनको पहिलो दिन नै एउटा घटनाबाट चकित परे। एकजना लामो कपाल भएकी फुच्ची, केटीको सिटमा नभई, केटाको सिटमा बसिरहेकी थिइ। यो त्यतिबेलाको कुरा हो, जतिबेला स्कुलमा पुरुष तथा महिला विद्यार्थीका लागि छुट्टाछुट्टै बेन्ची प्रयोग गरिन्थ्यो। रान्दे, केही दिनपछि पुनः चकित परे। उनले सोचेको केटी, केही दिनभित्रै केटा बनेर निस्कियो। त्यो पनि तगडा। निकै तगडा।
सचिन रमेश तेन्दुलकर अर्थात भारतीय क्रिकेटका भगवान। जुनबेला उनी स्टम्पभन्दा सानो थिए, निकै सानो स्वरले बोल्थे। त्यसैले पनि होला, उनलाई स्कुलमा प्रायः सबैले हेप्थे।
जतिबेला उनी कक्षा २ मा पढ्थे, आफूलाई सधैं खिस्याइरहने एउटा साथीलाई नमज्जाले कुटिदिएछन्। त्यसपछि के चाहियो। स्कुलभरि बबाल।
यस्तै, सचिन ४ कक्षामा पढ्दै थिए। उनको चुलबुलेपनबाट स्कुलका सारा शिक्षक यति हैरान भइसकेका थिए, एकदिन स्कुलका प्रधानाध्यापक नै कक्षा सकिएपछि उनलाई दण्डित गर्न गेटबाहिर कुरेर बसेका थिए। तर, उनी कतिबेला हो, कक्षाकोठाबाटै गायब भए।
‘सचिन त्यहाँबाट कसरी भागे, मैले अहिलेसम्म भेउ पाउन सकेको छैन,’ रान्देले भारतीय मिडियालाई अन्तर्वार्ता दिने क्रममा भनेका थिए। सचिन बाल्यकालमै परिस्थितिलाई आंकलन गरिसक्थे। उनको निर्णयक्षमता गजबको हुन्थ्यो।
सचिनका छिमेकी अविनास गोवारेकर, जो पेसाले फोटोग्राफर हुन्। अझै पनि सचिनसँग सानोमा जोडिएको थुप्रै अविस्मरणीय घटना कोट्याउँदा उत्तेजित हुने गर्छन्। ‘ऊ दयालु प्रकृतिको मान्छे हो। तर, उसमा गजबको फुर्ति, शक्ति र सोच्ने क्षमता थियो।’
एकदिन सचिन एक्कासी छोटो कपालमा देखिए। गोवारेकर भन्छन्, ‘मलाई थाहा छैन। कपाल काट्ने निर्णय उसको थियो वा परिवारका अन्य सदस्यको। तर, कपाल काटेपछि ऊ आफूलाई टेनिस खेलाडी म्याक्यानरोजस्तै सोच्थ्यो।’

सचिनका बाबु रमेश तेन्दुलकर उपन्यासकार थिए। उनी मुम्बई विश्वविद्यालयबाट मराठी विषयमा गोल्मेडलिस्ट थिए। आमा रजनी एउटा इन्सुरेन्स कम्पनीमा क्लर्कको काम गर्थिन्। रमेश बलिउडका म्युजिक डाइरेक्टर सचिन देव बर्मनका ठूला प्रशंसक थिए। उनले छोराको नाम यिनै म्युजिक स्टारको अगाडिको नामबाट राख्ने निर्णय गरे। सचिन मराठी बाबुआमाका ७ सन्तानमध्ये तीन दाजु र २ दिदीपछि जन्मेका हुन्।
मुम्बई पश्चिम बान्द्रास्थित सत्य सेवा आश्रममा २ कोठामा जीवन बिताउने क्रममा यो जोडीले कहिल्यै आफ्ना छोरालाई पढाइमा मात्र केन्द्रित हुन कर गरेन। त्यसैले होला, सचिनले १० कक्षाको पढाई पुरा गरेनन्।
सचिनको क्रिकेट करिअरमा सबैभन्दा सहयोगी उनकै ठूला दाजु अजित हुन्। उनी पनि राम्रो क्रिकेट खेल्थे। तर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण खेल्न छाडे।
सत्य सेवा आश्रमको प्रायः सबै घरको झ्याल फोडेपछि दाजु अजितलाई लागेछ– अब आफ्नो भाइको खेल्ने स्थान साँघुरो टोलको गल्ली होइन। तुरुन्त उनले भाइलाई मुम्बईका चर्चित क्रिकेट प्रशिक्षक रमाकान्त आच्रेकरकहाँ लैजाने निर्णय गरे।
जुनबेला सचिन शारदा आश्रममा पढ्थे, त्यतिबेला उनको ब्याचमा प्रायः सबै क्रिकेट खेल्ने केटाहरु थिए। स्कुल लाग्थ्यो, बिहान ७ बजेर ५ मिनेटमा। त्यसपछि सुरु हुन्थ्यो, कक्षा कोठाभित्रै क्रिकेट। प्रायः केटाहरु रबरको बल लिएर आउँथे। बलिङ चल्थ्यो, अन्डरआर्म शैलीमा। त्यतिबेला पनि ब्याट ल्याउने जिम्मा हुन्थ्यो, सचिनकै। प्रधानाध्यापकको कोठामा उजुरी नपुगेको दिनै हुँदैन्थ्यो।
सचिन १३ वर्षको उमेरमै स्थानीयस्तरमा हिरो भइसकेका थिए। मुम्बईको शिवाजी पार्कमा आच्रेकरको गम्भीर आँखाअगाडि अभ्यास गरेका सचिनसँग सानोमा गाडीमा घुम्दाको क्षण अभैm बिर्सिएका छैनन्, अमोल मजुमदारले। सचिनसँगै सानोमा क्रिकेट खेलेका उनी भन्छन्, ‘एकपल्ट सचिन र म गाडीमा कता जाँदै थियौं, एकजनाले उसलाई देखाउँदै भन्यो– ‘ऊ सचिन।’
सचिनले सानैमा आफ्नो छवि बनाइसकेका थिए, पिन्च हिटरको। ‘ऊ त्यतिबेलै बललाई निर्दयी ढंगले चुट्थ्यो,’ सचिनसँगै सानोमा क्रिकेट खेलेका अमित पग्निस पनि सम्झन्छन्। उनको नाडीमा गजबको ताकत थियो।
सचिनकै परममित्र तथा भारतका लागि क्रिकेट खेलिसकेका विनोद काम्बलीसँग एक पल्ट पञ्जा लडाउने बाजी परेछ। काम्बलीलाई सुरुमा भ्रम रहेछ, आफूभन्दा बलियो कोही छैन। तर, सचिनले मज्जाले हराइदिए। त्यसपछि काम्बली सचिनसँग नतमस्तक। काम्बलीले थुप्रै अन्तर्वार्तामा स्विकारेका छन्, ‘सचिनसँग फलामजस्तै बलियो ग्रिप र अकल्पनीय शक्ति थियो।’

सचिनको एउटा अनौठो बानी छ। उनी मन पराएको व्यक्तिसँग मात्र जिस्कने गर्छन्। शिवाजी पार्कमा क्रिकेट सिक्दामात्र होइन, अहिले पनि भारतीय ड्रसिङ रुममा उनीबारे एउटा रोचक भनाइ छ, ‘आउट भएर फर्किदा सचिन कोहीसँग बोल्न रुचाउँदैन्थे। दुःखी आमाजस्तै चुप लागेर बस्थे।’
रेल्वेबाट क्रिकेट खेलेका सुजित गटकरी शारदा आश्रममा पढ्दा सचिनले भन्ने गरेको एउटा डायलगबाट अझै प्रभावित छन्। स्कुलमा सचिन भन्ने गर्थे, ‘चिन्ता गर्नुपर्दैन। यहाँ हाम्रो शाषन चल्छ।’
दाजु अजितले पहिलोपल्ट प्रशिक्षक आच्रेकरलाई भेटाउन लैजाँदा सचिनले नेटमा अभ्यास गर्नुअघि दाजुलाई सोधेका थिए, ‘हानेर खेल्नु कि रोकेर?’ त्यतिबेला सचिनलाई उनका दाजुले कुनै सुझाव दिएनन्। तर सचिनले जे सोचे, त्यही गरे।
आच्रेकरले शिवाजी पार्कमै एउटा खेल हुँदा सचिनलाई भनेछन्, ‘सतक बनायौं भने प्रविन आर्मेले तिमीलाई एडिडासको सक्कली जुत्ता किनेर दिनेछन्।’ नभन्दै सचिनले सतक बनाए।
‘मैले सचिनलाई एडिडासको जुत्ता किनेर दिनुपर्यो,’ आर्मे सम्झन्छन्। सचिनले एडिडास जुत्ता पहिलोपल्ट त्यही बेला लगाएका थिए। पछि एडिडासले करौडौ रुपैयाँ उनका लागि खर्चियो।
सचिन त्यतिबेला सर्वाधिक चर्चामा आए, जब स्कुलस्तरीय प्रतियोगितामा सेन्ट जेभियर्सविरुद्ध शारदा आश्रमबाट खेल्ने क्रममा उनले १५ वर्षको उमेरमा विनोद काम्बलीसँग मिलेर अविजित ६ सय ६४ रनको साझेदारी गरे। त्यतिबेला सचिनले अविजित रहँदै ३ सय २६ रन बनाएका थिए। उनीभन्दा १५ महिना जेठा काम्बलीले अविजित ३ सय ४९ रन बनाए।
यी दुबै क्रिजमा हुँदा प्रशिक्षक आच्रेकर बाहिरबाट कराउँदै थिए, इनिङ समाप्तीको घोषणा गर। तर, सचिन नदेखेको बहाना बनाउँदै मस्त ब्याटिङ गरिरहेका थिए। उनले त्यतिबेला क्रिजमा रहेका आफ्ना सहपाठी काम्बलीलाई पनि उर्दी लगाएका थिए, बाहिर नहेर्न।
यो खेलको केही दिनपछि नै शारदा आश्रमका थुप्रै खेलाडी मुम्बईका केटाहरुमाझ चर्चित भए। थुप्रै डेटिङमा लागे। तर, सचिन जहिल्यै क्रिकेट अभ्यासमा व्यस्त हुन्थे।
गर्मीको छुट्टीमा सचिनको दैनिकी नै हुन्थ्यो, बिहान ७ देखि १० बजेसम्म शिवाजी पार्कमा अभ्यास गर्ने। १० देखि दिउसो ४ बजेसम्म म्याच खेल्ने। र, ४ देखि साँझ ७ बजेसम्म पुनः अभ्यास।

त्यतिबेला आच्रेकर मिडल स्टम्पमा १ रुपैयाँको ढक राख्थे र बलरलाई आदेश दिन्थे, ‘ल सचिनलाई आउट गर, पैसा तिमीहरुको।’ आउट गर्ने कुरै छाडौँ, लामो समय ब्याटिङ गरेपछि अन्ततः त्यो पैसा खल्तीमा राखेर घर फर्किन्थे, सचिन। ‘१३ वटा क्वाइन अझै सुरक्षित राखेको छु,’ सचिनले एकपल्ट अन्तर्वार्तामा भनेका थिए।
शिवाजी पार्कमा यसरी अभ्यासमा व्यस्त हुँदा उनको खाना हुन्थ्यो, मुम्बईको चर्चित स्थानीय खाना बडा पाउ। ‘मैले उसले ८ वटासम्म खाएको देखेको छु,’ मुम्बईका क्रिकेटर मनोज जोडलेकर सम्झन्छन्।
खाने मामिलामा सलिल अंकोलाभन्दा पनि खन्चुवा मानिन्छन्, सचिन। भारतीय टोलीका खेलाडीबीच एकचोटि खाने प्रतिस्पर्धा चल्दा सचिनले आफूभन्दा ठूलो जिउ भएका थुप्रै खेलाडीलाई उछिनेका थिए। अभैm शिवाजी पार्कमा एउटा भनाइ चर्चित छ– सचिनमा यति धेरै शक्ति आउनुको पछाडि त्यहाँको बडा पाउको ठूलो हात छ।
मजुमदार आफ्नो टोलीको प्रमुख प्रतिद्वन्दी बान्द्रा उर्दुविरुद्ध क्रस मैदानमा भएको एउटा खेल अझै सम्झन्छन्। त्यो खेलमा सचिनले यति बिस्फोटक ब्याटिङ गरेका थिए, उनले हिर्काएको १२ बल मैदानबाट बाहिरिँदै हराएको थियो। त्यो खेलमा बलिङ गर्ने टोलीमात्र होइन, अम्पायरिङ गरिरहेका अम्पायर पनि बल साट्दा साट्दै हैरान भइसकेका थिए। बल हराएपछि अम्पायर नयाँ बल मगाउँदै घाँसमा रगड्ने गर्थे।
अम्पायरले यसरी नै ६ वटा बल घाँसमा रगडिसकेपछि सचिन नजिकै पुगे। र, उनले कृतज्ञता जनाउँदै भने, ‘मलाई नयाँ बलमा खेल्न कुनै आपत्ति छैन।’ सचिनको यो निर्णयले बान्द्रा उर्दुका बलर निकै खुसी देखिएका थिए। तर, उनीहरुको खुसी लामो समय टिकेन। त्यसपछि पनि ६ वटा बल हरायो।
स्कुलमै हुँदा सचिनलाई बलर बनाउन बेङ्लोरस्थित एमआरएफ पेस फाउन्डेसन पठाइएको थियो। त्यतिबेला फाउन्डेसनमा बलिङ सिकाउने काम गर्थे, अस्ट्रेलियाका महान बलर डेनिस लिली।

उनी सचिनको बलिङबाट त्यति खुसी हुन सकेनन्। उनले तत्कालै सुभाव थिए– बलिङभन्दा ब्याटिङमा ध्यान देऊ। सचिनले लिलीको त्यो सुझाव आत्मसात गरे।
नभन्दै उनले भारतका चर्चित घरेलु क्रिकेट प्रतियोगिता रणजी, दुलिप र इरानी ट्रफीको डेब्युमै सतक बनाएर सनसनी मच्चाए। तर पनि उनी सन् १९८९ इरानी ट्रफी खेल्नेक्रममा सबैभन्दा बढी नर्भस देखिन्थे।
तनावकै कारण उनले पहिलो इनिङमा ३५ रनमात्र बनाए। उनी त्यतिबेला तनावग्रस्त हुनुको कारण पनि थियो। किनभने त्यही साँझ पाकिस्तान भ्रमणमा निस्किन लागेको भारतीय क्रिकेट टोलीको घोषणा हुँदै थियो। र, सबैलाई थाहा थियो, त्यो टोलीमा १६ वर्षे सचिन पहिलो पल्ट छनोट हुँदैथिए।
(एजेन्सीहरुको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।