काठमाडौं–काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बिना काम हिँडडुल गर्ने १४१७ जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ।
महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसपी सुशीलसिंह राठौरका अनुसार सोधपुछ गर्दा उनीहरु बिना काम बाहिर हिँडडुल गरेको पाइएपछि होल्डिङ जोनमा राखिएको हो।
त्यसैगरी निषेधाज्ञाको उल्लंघन गरी चलेका ३६१ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा दुईपांग्रे सवारी ३२० छन् भने चारपांग्रे सवारी ४१ रहेको एसपी राठौरले बताए।
काठमाडौंका ४४, ललितपुरका ८ र भक्तपुरका ४ ठाउँमा विशेष चेकिङ खडा गरेर जाँच गरिएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा अहिले ३२ सय प्रहरी परिचालन गरिएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आज बिहीबारदेखि दुई सातासम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।