काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि बोल्दै राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य पियारी थापाले सिंहदरबारमा सल्काइएको भुसको आगोको प्रभाव गण्डकी प्रदेशमा पनि परेको बताएकी छिन्।
‘अन्तत्वगत्वा सिंहदरबारमा सल्काइएकोको भुसको आगोको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ। यो बिडम्बना हो। दुःखद् हो। यसलाई हामीले मनन गर्ने कि नगर्ने?,’ उनले भनिन्।
थापाले नेपाली जनताले वामपन्थी सरकारमाथि आफ्नो भविष्य खोजेको सत्य भए पनि त्यो अभिमतलाई लत्याएर जुन प्रकारको गतिविधि अगाडि बढ्यो, जुन प्रकारको कार्यशैली अगाडि बढ्यो, के त्यो सही थियो? भन्ने प्रश्न गरिन्। ‘त्यसलाई छातीमा हात राखेर हामीले मनन गर्ने कि नगर्ने?,’ उनले भनिन्।
उनले आफूहरुले गुण र दोषको आधारमा समीक्षा गर्नेगरी सरकारलाई समर्थन दिएको बताइन्। ‘हामीले आफ्नो भूमिका निर्वाह गर्यौं। पटकपटक सच्चिनका निम्ति हामीले आग्रह गर्यौं। पटकपट सच्याएर जानुस्, जनताले दिएको अभिमतलाई कदर गर्नुस् भनेर भन्यौं। तर पनि त्यो अवस्था सिर्जना भएन,’ उनले भनिन्।
मुख्यमन्त्री गुरुङका विरुद्ध परेको अविश्वास प्रस्तावमाथि बोल्ने विपक्षी दलका प्रदेशसभा सदस्यहरुले गुरुङका साथसाथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जोडेर आलोचना गरेका छन्।
अविश्वास प्रस्तावमाथि छलफल जारी छ। आजै मुख्यमन्त्री गुरुङले जवाफ दिने र प्रस्तावमाथि मतदान हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।