काठमाडौं– कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पतालहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज (मंगलबार) सचिवस्तरीय निणर्य गर्दै कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन समेत निर्देशन दिएको छ।
मन्त्रालयले अस्पतालमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरेर सेवा दिने व्यवस्था मिलाउन समेत भनेको छ । अस्पतालको स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न र स्वीकृत जनशक्ति भएको तथा थप जनशक्ति आवश्यक भएमा ५ महिनाको लागि करार सेवामा लिन पनि मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ।
अस्पतालको बेड, जनशक्ति र संक्रमित बिरामीको संख्याको आधारमा बहिरङ्ग सेवा, इलेक्टीभ सर्जरी लगायतका सेवा हाललाई स्थगित गर्ने, तर आकस्मिक सेवा सुनिश्चित गर्न स्वास्थ्य मन्त्रलायले अस्पतालहरुलाई निर्देशन दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।