काठमाडाैं- एपीएफ क्लबले भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेकाे छ। शनिबार भएको फाइनल खेलमा न्यू डाइमण्ड स्पोर्टस् क्लब हराउँदै एपीएफले उपाधि चुमेको हो।
भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको मैदानमा भएको फाइनल खेलमा एपीएफले न्यू डाइमण्डलाई २५-१६, २५-२२ र २५-१४ को सोझो सेटमा पराजित गरेकाे हाे।
विजेता एपीएफले ट्रफीसहित नगद तीन लाख रुपैयाँ प्राप्त गरे। उपविजेतामा न्यू डाइमण्डले ट्रफी र नगद दुई लाख रुपैयाँमा चित्त बुझायो।
त्यस्तै, प्रतियोगितामा तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ट्रफी र नगद एक लाख हात पारेकाे छ। चौथो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले ट्रफी नगद पचास हजार रुपैयाँ पायो।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी घोषित भइन्। उनले ट्रफी र नगद बीस हजार रुपैयाँ प्राप्त गरिन्।
उत्कृष्ट स्पाइकर आर्मीकी शान्ति थारु, उत्कृृष्ट सर्भर न्यू डाइमण्डकी प्रतिभा माली, उत्कृष्ट ब्लकर आर्मीकी सुनिता खड्का, उत्कृष्ट सेटर एपीएफकी विनिता बुढाथोकी, उत्कृष्ट डिफेन्स न्यू डाइमण्डकी सलिना श्रेष्ठ भइन्।
उनीहरुले ट्रफीसहित नगद सात/सात हजार प्राप्त गरे। प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए।
भोटेकोशी गाउँपालिकाको आयोजनामा गरिएको प्रतियोगितामा पाँच टिम सहभागी थिए। आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।