फाइल तस्बिर।
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले धरहराभन्दा अग्लो दम्भ देखाएको बताएका छन्। बुधबार र बिहीबार ओलीसँग छलफल गरेका नेपालले शुक्रबार उनीसँगको भेटबारे कार्यकर्ताहरूलाई बताएका हुन्।
शुक्रबार जनकपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले ओलीको दम्भ धरहरा भन्दा अग्लो रहेको टिप्पणी गरे। ‘उहाँको दम्भ धरहरा भन्दा अग्लो छ। धरहरा हेरेर दम्भ देखाइरहनु भएको थियो। उहाँ ‘खाए खा, नखाए घिच’ भन्ने शैलीमा देखिनु भयो’, नेता नेपालले भने।
बिहीबारको भेटमा ओली र नेपालले मेरिट होटलको झ्यालबाट धरहरा नियालेका थिए। प्रधानमन्त्री ओलीले शनिबार धरहराको उद्घाटन गर्दैछन्। २०७२ सालको भूकम्पकले धरहरा भत्काएपछि सोही ठाउँमा अहिले २२ तलाको धरहरा बनाइएको छ।
ओलीले भने- तपाईंहरूको मोबाइल बिग्रेछ
नेता नेपालले फागुन २८ गतेको बैठकमा किन नबोलाएको भनेर ओलीसँग प्रश्न गरेका थिए। आफूले पार्टीलाई २०७५ जेठ २ फर्काऔं, एकतावद्ध बनाऔं भनेर प्रस्ताव गरेको नेपालले बताए।
‘जे निर्णय भयो भयो। तपाईंहरू किन आउनु भएन भनेर सोध्नु भयो। मैले हामी कसैलाई बोलाउनु भयो? भनेर प्रश्न गरेँ। उहाँले बोलाएको थियो, तपाईंहरूको मोबाइल बिग्रेछ भन्नु भयो’, नेपालले भने, ‘यस्तो पनि हुन्छ? सबैको मोबाइल बिग्रिन्छ?’
नेपालले निर्वाचित जिल्ला अध्यक्षलाई हटाएको विषयमा पनि ओलीसँग असन्तुष्टि जनाएका थिए। भूमिका राम्रो नखेलेकाले हटाएको ओलीले जवाफ दिएका थिए।
‘पहिलो दिनको भेटले अलिकति आश जागेको थियो। मैले भेटमा अध्यक्ष र प्रधानमन्त्री चाहिँदैन। अध्यक्ष पद पनि खोस्दैनौं। अध्यक्षमा पनि बस्नुस् तर, पार्टीलाई सिस्टममा लैजाऔं भनेँ’, नेपालले थपे, ‘बहुमत पुर्याएर पार्टीबाट माधव नेपालले निकाल्छ कि भन्ने चिन्ता नगर्नुस्। माधव नेपाललाई पद चाहिएको छैन भनेर मैले भने। तर, उहाँले बल्खु गएर माधव नेपालको हुर्मत लिनु भयो।’
बिहीबार मेरिट होटलबाट धरहरा नियाल्दै ओली-नेपाल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।