काठमाडौँ – भललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ।
हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन्। उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ। हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए।
उनले भने, ‘हत्या गरेको फालेको जस्तो देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ।’
पारुहाङ र ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा भएको केशवराज हायुको हत्या बिच ‘कनेक्सन’ पनि देखिएको छ। यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो।
हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको आशङ्का गरिएको छ। एसएसपी बोगटी भन्छन्, ‘दुवै हत्या एक अर्कामा अन्तरसम्बन्धित देखिएका छन्।’
पारुहाङको पनि टाउकोमा चोट देखिएको छ। सोमबार बिहान जंगलमा भेटिएका पारुहाङको शव पोस्टमार्टमका लागी भक्तपुरको केएमसी अस्पतालमा राखिएको छ। दुवै जनालाई एउटै समूहले हत्या गरेको प्रहरीको आशङ्का छ।
सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो। उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराजलाई पनि पक्राउ गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।