काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्।
सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले सरकारी निवास छोड्ने तयारीसमेत गरिसकेका छन्।
संसद् पुनर्स्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यस विषयमा जवाफ दिनुपर्ने सम्भावित अवस्थालाई ध्यानमा राख्दै घिमिरेले सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको अधिकारीले बताए।
उनले भने, “पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित निकायमा जवाफ दिनुपर्ने अवस्था आउन सक्ने भएकाले प्रक्रियागत अप्ठ्यारो नहोस् भनेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ। अब उहाँ कार्यालय जानुहुन्न, निवास सर्ने तयारी गर्दै हुनुहुन्छ र डेरा पनि खोजिसक्नुभएको छ।”
संविधानमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख अर्को प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारी दिने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि आज र भोलि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइँदै छ।
यस व्यवस्थाअनुसार सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल गएराति १२ बजेदेखि औपचारिक रूपमा समाप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।