काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी विभाजनको डिलमा पुगिसकेको भएपनि त्यसलाई रोक्न सकिने बताएका छन्।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लगातार दुई दिन भएको वार्ता कुनै निष्कर्षमा नपुगिरहेको बेला नेता रिजालले पार्टी भित्रका अन्तर्विरोधमा निषेधको निषेध नभई समाधान आलोचना र आत्मालोचनाको पद्दतीबाट हुने भन्दै विभाजन रोक्न शुक्रवार सामाजिक सञ्जालमार्फत अपिल गरेका हुन् ।
माधव नेपालका विश्वास पात्ररहेका रिजाल केही दिन अघि ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए।
नेता रिजालले पार्टी भीरको डिलमा पुगिसकेपनि फर्कने समय रहेको उल्लेख गरेका छन्। ‘ भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ- फर्कौं !’ उनले लेखेका छन्।
संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त नभएको भन्दै नेता रिजालले रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,'संसारका कुनै पनि कम्युनिस्ट पार्टी अन्तर्विरोधमुक्त छैनन् । रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरूबाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका थिए । सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि: दुई कदम पछाडि’ (one step forward: two step back) को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ । समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भए पनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’ (negation of negation) को नियम लागू हुँदैन र यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुन्छ भन्ने बाटो मार्क्सवाद-लेनिनवादले स्पष्ट पारेको छ । अत: भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौं । समय छ- फर्कौं !'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।