काठमाडौं– सदनमा सरकारको कार्यशैलीविरुद्ध सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरुले आलोचना गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले सबैलाई नआत्तिन आग्रह गरेका छन्।
शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गरेका हुन्।
उनले परिणाम देखिन केही ढिलो भए पनि गलत नहुने दाबी गरेका छन्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको पनि उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
शुक्रबार दिउँसोको प्रतिनिधि सभा बैठकमा रास्वपाकै सांसदहरुले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाएलगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो।
सांसदहरु मनिष झा, इन्दिरा राना, रमेश प्रसाईं, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाहसंस्कार खर्च, किसानलाई बाँदरले दिएको दुःखदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकको दुःखमा देखिन आग्रह गरेका थिए।
रास्वपा सांसद झाले समग्रतामा राज्य सञ्चालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यंग्यात्मक शैलीमा भनेका थिए, ‘हामीले हाम्रो सवारी साधनको कालो सिसा हटायौं, कालो स्टिकर हटायौं। अब सम्भवत कालो चस्मा पनि हटाउनुपर्छ।’
यससँगै रास्वपाले सरकारविरुद्ध बोल्ने आफ्ना पार्टीका सांसदहरुलाई कडाइसमेत गर्ने तयारी गरेको छ।
के भएको थियो हिजो?
https://nepallive.com/story/347969
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।