काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेता बामदेव गौतमबीचको भेट सकारात्मक दिशामा अघिबढेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष ओलीले नेता गौतमसँग बिहीबार साँझ ‘डिनर मिटिङ’ गरेका थिए।
भेटमा प्रमुख सचेतक भट्टराईसँगै कानूनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी थिए। भेटका क्रममा नेता गौतमले सबै पक्षलाई मिलाए लैजानुपर्नेमा जोड दिएको सचेतक भट्टराईले बताए।
नेता गौतम अझै पर्ख र हेरको अवस्थामा रहेको भट्टराईको भनाइ छ। ‘करिब २ घण्टासम्म चलेको वार्तामा नेता गौतमले सबैलाई मिलाएर लगे आफ्नो साथ रहने कुरामा जोड दिनुभयो,’ भट्टराईले भने।
जवाफमा पार्टी अध्यक्ष ओलीले आफू निरन्तर पार्टी एकताकै पक्षमा रहेको र सबैलाई मिलाएर अघि बढ्न प्रतिबद्ध रहेको विश्वास गौतमलाई दिलाएको भट्टराईको भनाइ छ।
यसअघि अध्यक्ष ओलीले बुधबार र बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटघाट गरेका थिए।
एमाले विभाजनको डिलमा पुगेका बेला ओलीले नेताहरुसँग बढाएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।