काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का नेता बामदेव गौतमबीच बिहीबार साँझ भएको डिनर भेटको निकै चर्चा भयो। तर, त्यो भेट अर्थहीन बनेको गौतमले बताएका छन्।
बिहीबार साँझ बालुवाटारमा भएको डिनर भेटघाट औपचारिक कुराकनीमै सीमित रहेको नेता गौतमको सचिवालयले जनाएको छ। भेटमा ओलीले आफूसँग सहकार्य गर्न अनुरोध गरेको नेता गौतमले बताए। जवाफमा गौतमले 'फागुन २८ गतेको बैठकको निर्णय फिर्ता लिन अनुरोध गरेको तर पार्टी अध्यक्षले उक्त बैठकको निर्णय फिर्ता नहुने जानकारी दिएको' बैठकको कुराकानीलाई उद्धृत गर्दै सचिवालयले जनाएको छ।
अध्यक्ष ओलीको यस्तो प्रतिक्रियासँगै नेता गौतम बैठक छाडेर बाहिरिएका थिए। ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ,’ उनको भनाइ उद्धृत गर्दै सचिवालयले लेखेको छ, ‘डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’
विभाजनको संघारमा पुगेको एमालेमा अकस्मात संवाद तीव्र पारेका ओलीले बुधबार र बिहीबार दिउँसो वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि वार्ता गरेका थिए।
पछिल्लो समय एमालेमा ओली र नेपालले नेतृत्व गरेका अलगअलग संरचना र कमिटी अभ्यासमा छन्।
यहीक्रममा ओलीले पछिल्लो समय एमालेमा निष्क्रियजस्तै देखिएका गौतमलाई भेटेका हुन्। दुई नेताहरुको भेटमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।