मेलम्ची– सिन्धुपाल्चोक जिल्लास्तरीय महिला भलिबलको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ।
बुधबार मेलम्चीमा भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले नगद १ लाख रूपैयाँसहित कप र मेडल प्राप्त गरेको हो। दोस्रो हुने टिमले ५० हजार रूपैयाँसहित कप र मेडल प्राप्त गर्यो।
तेस्रो स्थान प्राप्त गर्ने मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले २५/२५ हजार रूपैयाँसहित कप र मेडल प्राप्त गरेका छन्। सान्त्वना स्थान प्राप्त गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाले १० हजार रूपैयाँ नगद र कप पाएको खेल संयोजक राजनमान श्रेष्ठले जानकारी दिए।
हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो प्रतियोगिता सोमबार मेलम्ची बजारमा शुरु भएको थियो। प्रतियोगिताको लागि मेलम्ची नगरपालिकाकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो।
खेलमा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले ३ हजार रुपैयाँ नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन्।
चार विधामा हेलम्बु गाउँपालिकाले पुरस्कार जितेको छ। यसमा उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित भए।
त्यस्तै, चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाएकी मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिए।
समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै शुभकामना व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।