बैंकक, (रासस/सिन्ह्वा)– थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहेको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गरेका छन्।
उनले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गरेका हुन्।
उनले भने – ‘हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बस्नुभएको छ।’
उनलाई यसअघि नै थाइल्याण्डको सर्वोच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो ।
उनले अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वोच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर गत महिना देश छोडेर भागेको समाचार प्रकाशित भएका थिए।
गत महिना देश छोडेकी उनी हाल दुबईमा रहेको जानकारी गराइएको हो । यो समाचार बिहीबार पहिलो पटक थाई प्रधानमन्त्रीले सार्वजनिक गरे।
पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधबार मात्र पाँच वर्षको जेल सजाय सुनाएको छ।
अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो ।
यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।