काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संयुक्त सरकारको नेतृत्व लिन अनिच्छुक देखिएका छन्। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सितको भेटमा देउवाले संयुक्त सरकारको नेतृत्व लिन अनिच्छा देखाएका हुन्।
देउवा आफैंले गत शुक्रबार माओवादी केन्द्र र जसपा नेताहरूलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर संयुक्त सरकारको प्रस्ताव गरेका थिए। देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, स्थायी कमिटी सदस्य देव गुरुङ, जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतोसमक्ष यस्तो प्रस्ताव गरेका थिए। माओवादीले संयुक्त सरकारको प्रस्तावलाई सहर्ष स्वीकार गरेपनि जसपाले पार्टीमा निर्णय गरेर जवाफ दिने बताएको थियो।
देउवाले संयुक्त सरकारको नेतृत्व लिन ढिलाई गरेपछि मंगलबार अपराह्न देउवालाई जसपा नेता भट्टराई र यादवले बूढानीलकण्ठ पुगेर भेटेका थिए। लगत्तै देउवाले मंगलबार बेलुका माओवादी अध्यक्ष प्रचण्ड देउवालाई भेटे। नेताहरूसँगको भेटमा देउवाले सरकारको नेतृत्व लिन आलटाल गरेको भेटघाटबारे जानकार एक नेताले बताए।
‘पहिला संयुक्त सरकारको नेतृत्व लिन तयार छु तपाईंहरूले साथ दिने कि नदिने भन्नुभयो। हामीले पार्टीमा आफ्नो तर्फबाट छलफल गरेर एक ढंगको 'अन्डरस्ट्याण्डिङ' बनायौं’, ती नेताले भने, ‘अहिले आएर सरकारको नेतृत्व लिन अनेक खालका आलटाल गरेर अनिच्छा देखाइरहनु भएकाे हामीले पायौं।’
सरकारको नेतृत्व लिनेगरी परिस्थिति परिपक्व नभएको भन्दै देउवा अगाडि सरेका छैनन्। ‘सरकारको नेतृत्व लिने विषयमा के भइरहेको छ भन्ने प्रश्न राख्याैं। देउवाजी खै, सरकार बन्न अंकगणित पुग्दैन कि! महन्थजी र राजेन्द्रजी मान्नुहुन्न होला भन्नुहुन्छ’, ती नेताले भने, ‘केपी ओली र देउवाजीको मिलोमतो छ कि जस्तो पो लाग्न थाल्यो। के भएको केही भन्न सक्ने अवस्था छैन।’
ओली-देउवाको मिलोमतोको आशंका गरेर ती नेताले भारतलाई संकेत गर्दै 'विदेशी प्रभुले जे चाह्यो त्यही हुने संकेत देखिएको' टिप्पणी गरे। संयुक्त सरकार बन्न नदिन विदेशी शक्तिसमेत लागिपरेकाले यस्तै अवस्था रहे मुलुक नयाँ निर्वाचनतिर जाने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।