काठमाडाैं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२१ मा नेपाली फिचर फिल्म प्रतिस्पर्धाका लागि यो वर्ष तीनवटा नेपाली चलचित्र छनोट भएका छन्।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार महोत्सवका लागि नेपाली चलचित्र लाटो कोसेरो, सरिता ११ वर्ष र आमा खान्डो फिचर फिल्म छनोट भएका हुन्।
महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४५० चलचित्र प्राप्त भएको उनले बताए। आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो भने नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो।
अब निफमा ६६ फिल्म देखाइने छ। माथि उल्लेखित ती चलचित्रमध्येबाट एक चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रको एक लाख रुपैयाँ पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार,अभिनेता र अभिनेत्री ट्रफी पाउने छन्।
‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको महोत्सवमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराएर अवार्ड पनि वितरण गरिने आयोजकको भनाइ छ।
कोभिड-१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५०० अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्ने छन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई एक हजार ५०० अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ।
यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलर राशिको बागमती अवार्ड यथावत् रुपमा प्रदान गरिनेछ।
महोत्सव २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।