काठमाडौं- नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपिएफ दोस्राे भयो। तेस्राे स्थानमा रहेको रेज फिटनेसले १ स्वर्ण र १ कांस्य जित्यो। शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए।
ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा एपिएफका रोशन अछामी र महिलामा रेजकी तेजी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार नगद पुरस्कार पाए।
पुरुष ६० केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका रजत विजेता एपिएफका मंगलप्रसाद थारु, खुला तौल समूहमा एपीएफका सन्जीव महर्जन, ७५ केजीमा आर्मीका दलबहादुर घले, ६५ केजीमा आर्मीका राजेश चौधरी, ५५ केजीमा एपीएफका तीर्थराज थापा, ७० केजीमा आर्मीका सन्नी सुनार र ५० केजीमा एपीएफका रोशन अछामीले स्वर्ण जिते।
महिला ६० केजीमा एपीएफकी निशा विक, ६५ केजीमा आर्मीकी मन्जु विक, खुला तौल समूहमा आर्मीकी विन्दु पुन मगर, ५० केजीमा रेजकी तेजी गुरुङ र ५५ केजीमा आर्मीकी मनीषा प्रधान पहिलो भए।
प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्राेले १५ हजार र तेस्राेले समान ८–८ हजार नगद पुरस्कार पाए। विजेतालाई नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री पूर्णबहादुर खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
तीनदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको आयोजक विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले जनाएका छन्। कार्यक्रममा राखेपका सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गीलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।