काठमाडाैं- शुक्रबार लमजुङ पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेश सरकार बलियो अवस्थामा रहेको बताउँदै कसैले चाहेर पनि नढल्ने दाबी गरे।
वर्तमान सरकारलाई हटाउन सजिलो नभएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्ने जिकिर गरे। ‘उनीहरुको अवस्था सजिलो छैन,’ उनले भने, ‘गण्डकी प्रदेश सरकार पनि बलियो अवस्थामा रहेको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका गुरुङले प्रदेशसँगै केन्द्र सरकार पनि ढाल्न सहज नभएको संकेत गर्दै बचाऊ गरेका थिए। उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) मिल्नु भनेको घाम र जुन मिल्नुजस्तै भएको दाबी गरे।
यसरी उनले आफ्नो सरकार बलियो रहेको दाबी गरिहँदा उनीविरुद्धको मोर्चा कस्न माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपा एकमत देखिएका छन्। कांग्रेस र माओवादीले मुख्यमन्त्रीको कुर्सी हल्लाउनका लागि वार्ता कमिटीसमेत गठन गरेर सघन छलफल थालेका छन्। बधबारमात्र माओवादी केन्द्रबाट मन्त्री भएका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीविरुद्ध संकट आउने देखिएको हो। माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै मुख्यमन्त्री गुरुङले यस्तो टिप्पणी गरेका थिए।
कस्तो छ समीकरण
कूल ६० सांसद रहेको गण्डकी प्रदेशमा एमालेको २८ सिट छ। नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको १२, जसपाको दुई र राष्ट्रिय जनमोर्चाको तीन सिट रहेको छ। मुख्यमन्त्री गुरूङलाई अहिलेसम्म तीन सिट रहेको राष्ट्रिय जनमोर्चाले साथ दिएकोले उनी सरकार नढल्नेमा ढुक्क देखिएका छन्। तर, एमालेभित्र पनि केपी शर्मा ओली र माधवकुमार नेपाल-झलनाथ खनाल समूहको रुपमा अघि बढेकाले अविश्वासको प्रस्ताव दर्ता भएमा मुख्यमन्त्रीविरुद्ध नेपाल-खनाल पक्ष उभिनसक्ने खतरा पनि रहेको छ। गुरुङ ओलीपक्षका नेता भएकाले उनलाई असफल पार्न 'फ्लोर क्रस' वा असहयोग गर्ने नीति उनीहरुले लिनसक्ने देखिन्छ।
कांग्रेस र माओवादीले बनाए वार्ता समिति
केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेसले नयाँ सरकार गठनको लागि पहल थाल्दै वैकल्पिक केन्द्रीय सदस्य कुमार खड्काको नेतृत्वमा वार्ता समिति बनाएको छ। उक्त समितिमिा प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल र डोबाटे विश्वकर्मा सदस्य रहेका छन्। माओवादी केन्द्रले पनि नयाँ सरकारका लागि संसदीय दलका नेता हरिबहादुर चुमानसहित गायत्री गुरुङ, दीपक कोइराला र रामजी बरालको कार्यदललाई जिम्मा दिएको छ।
दुवै पार्टीको यो सक्रियताले नयाँ मुख्यमन्त्रीको खाका बनाउनसक्ने देखिन्छ। त्यस्तै दुई सिट रहेको जसपासँग पनि दुवै वार्ता टोलीले शुक्रबार छलफल गरेका छन्। छलफल सकारात्मक र एक भएर अघि बढ्ने अवस्थामा पुगेको खड्काले बताए।
कांग्रेससँग १५ सिटमात्रै रहेकाले नयाँ सरकार गठनका लागि एमालेबाहेकका सबै दलको साथ आवश्यक छ। दुवै दलले पहिलो चरणको वार्ता गरेको र गुरुङको विकल्प खोज्न सहमतिनजिक पुगेको कांग्रेस प्रदेशसभा सदस्य खड्काले बताए। जनमोर्चासँग संवाद भइरहेको र छिट्टै निर्णय आउनेसमेत खड्काले बताए।
६० सदस्यीय प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्रका र जसपा मिल्दा २९ सिट हुनेछ। मुख्यमन्त्री गुरुङलाई हटाएर नयाँ सरकार गठनका लागि जनमोर्चाका तीन सांसद निर्णायक हुने छन्। सभामुख नेत्रनाथ अधिकारी माओवादीकै भएको र उनले मत दिन नमिल्ने अवस्थामा एमालेको माधवकुमार नेपाल पक्षमा रहेका केही प्रदेशसभा सदस्यलाई मनाउने रणनीतिमा कांग्रेस देखिन्छ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा जनमोर्चाले समर्थन गर्नसक्ने आशमा विपक्षी गठबन्धन देखिन्छ। जनमोर्चाभित्र सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा दुईथरि मत देखिएको र अविश्वासको प्रस्तावको पक्षमा आउने विश्वास रहेको कांग्रेसका वार्ता टोली संयोजक खड्काले बताए। उनले अहिले नै मुख्यमन्त्री र अविश्वासको प्रस्ताव कहिले दर्ता गर्ने भन्ने विषयमा नपुगेको तर अहिलेको सरकार विस्थापन गर्नुपर्छ भन्ने निचोडमा भने पुगेको बताए। सबै दलको आपसी सहमति भएकै दिन मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र नयाँ सरकार गठन हुने उनको भनाइ छ। धेरै सांसद भएको र ठूलो दलको रुपमा कांग्रेसले मुख्यमन्त्रीको दाबी गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।