काठमाडाैं- निर्देशक सम्राट बस्नेतको निर्देशनमा ‘लाल मोहन जी’ नामको फिल्म बन्ने भएको छ। यसअघि ‘पासवर्ड’ फिल्म निर्देशन गरिसकेका सम्राटको फिल्ममा तीनजना नायकहरु पनि अनुवन्धित भएका छन्।
प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार रहेको फिल्ममा नायकत्रय विपिन कार्की, अर्पण थापा र कर्मा शाक्य अनुवन्धित भएका हुन्। यी तीनजना नायकसँगै फिल्ममा रोहित रुम्वा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको अभिनय देख्न सकिनेछ।
फिल्ममा अझै एकजना नायिका अनुवन्धित हुन बाँकी रहेको निर्माण टोलीले जानकारी दिएको छ। फिल्मको कथाकार प्रवेश पौडेल हुन्। त्यस्तै पटकथा तथा संवाद आकाश बरालले तयार पारेका हुन्।
फिल्ममा सन्तोष राजको संगीत रहेको छ। त्यस्तै निरज कँडेलको छायांकन, राजु तामाङको द्धन्द र कविराज गहतराजको कारियोग्राफी रहेको छ।
‘सस्पेन्स’ कमेडी बिधामा बन्न लागेको फिल्म झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको छ। चलचित्र जेठको पहिलो साताबाट ‘फ्लोर’मा निस्कने तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।