फाइल तस्वीर काठमाडाैं- पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिला तर्फको उपाधि न्यू डायमन्ड स्पोर्टस् क्लबले जितेको छ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो।
पहिलो सेट २२–२५ ले गुमाएको डायमन्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो। चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमन्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि उचाल्न सफल भएको थियो।
जितसँगै न्यू डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ।
यसअघि पहिलो संस्करणमा विभागीय टोली एपिएफलाई हराएर उपाधि उचाल्न सफल भएको थियो। उपाधि उचालेको न्युडायमन्डले पुरस्कार स्वरुप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको एपीएफले नगद ७५ हजार प्राप्त गर्यो।
यस्तै पुरुषतर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो।
हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैयाँ हात पारेको छ। उपविजेता एपीएफले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो।
तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त गर्यो। चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो।
प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।