काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताए पनि नियमित अभ्यासमा फर्किन सकिरहेको छैन। यही सन्दर्भलाई लिएर सत्तापक्ष र प्रतिपक्ष आरोप-प्रत्यारोपमा उत्रिरहन्छन्। सत्तापक्षका सांसद लालबाबु पण्डितले बिहीबार सरकारले ‘बिजनेस’ नदिएको भन्ने प्रतिपक्षी दलका सांसदहरूको आरोपको खण्डन गरे।
उनको प्रश्न थियो, ‘संसद्लाई सरकारले काम दिएन भनेको सुन्छु। सरकारले ल्याएका विधेयक काम होइन? सन्धि सम्झौता काम होइन?’ एक-अर्कालाई यसरी आरोप लगाउने शृंखला चलिरहेकै छ। बिहीबार केही सांसहरू एक-अर्कालाई हियाउन र होच्याउनतर्फ लागे।
विधेयक अधिवेशन भनिएको यो हिउँदे अधिवेशनमा नीति, कानुन र विकासमा हुनुपर्ने बहस बतासिँदै जाँदा व्यक्ति केन्द्रित हुन पुग्यो। संसद्मा भइरहेको बहस मन नपराएकी सांसद हिरा गुरुङले भनिन्, ‘गफ गरेर मात्रै राजनीति गर्ने हो? त्यस्तो गफै गर्नलाई संसद् प्रयोग नहोस्।’
जनताले सांसदहरू संसद्मा गफमात्रै गरिरहेको जस्तो महसुस गर्नेमा उनको चिन्ता थियो। निश्चित अजेन्डाविहीन संसद्मा आफ्ना भावना र आक्रोश दुवै पोखिए। संसद्मा बोल्न समय प्राप्त हुने तर विषय नहुने अवस्थाको सदुपयोग दुईजना सांसदले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भक्तिगान’ सुनाएर गरे।
सांसद विमला विश्वकर्माले ‘के भनौं?’ शीर्षक राख्नुपर्ने कविता जस्तोगरी डायरीमा टिपेका भावना प्रस्तुत गरिन्। उनका भावना यस्ता थिएः
वर्षौंपछि मेलम्चीको पानी काठमाडौं आए पनि
अतिक्रमित भू-भाग समेटेर नक्सा ल्याए पनि
देशैभरि विकासका लहर छरे पनि
ऐतिहासिक सम्झौता र सन्धि गरे पनि
रेल, तेल पुनर्निर्माण जे-जे गरे पनि
केही देख्न नसक्ने दोषी चश्मालाई म के भनौं?
शून्य समयमा उनको पालो सकिनेबित्तिकै नेकपा एमाले संसदीय दलकी सचेतकसमेत रहेकी शान्ता चौधरीको पालो आयो। उनले त प्रधानमन्त्री ओलीका पक्षमा लयबद्ध रूपमा कविता सुनाइन्। ‘छक्क पर्छु’ शीर्षकको कविता यस्तो थियोः
विरोधका लागि विरोध गर्नेहरूको कोलाहल देखेर म छक्क पर्छु
सरकार हसाउँछ, जनतालाई खुसी दिन्छ
तर, विकास विरोधीहरूको आँखा रसाउँछ अनि खुसी हराउँछ
प्रधानमन्त्री देशव्यापी रूपमा जाँदा जनलहर आउँछ
विकास विरोधीहरूको निन्द्रा हराउँछ।
प्रधानमन्त्रीका पक्षमा एकपछि अर्को काव्यात्मक प्रस्तुति गइरहेकै बेला बोल्ने पालो प्राप्त भयो नेपाली कांग्रेसका नेता गगन थापालाई। उनले माथि प्रस्तुत कवितालाई ‘बाल कविता’को संज्ञा दिए। उनी प्रधानमन्त्री ओलीमाथि कडा रूपमा प्रस्तुत भए। उनले भने, ‘प्रधानमन्त्रीज्यू, तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु। चुनौती दिन चाहन्छु।’
प्रधानमन्त्री ओलीविरुद्ध बोलिरहने क्रममा उनले पूर्वसांसदका प्रस्तुतिमाथि व्यंग्य कसे, ‘तपाईं बाहिरको सभा र सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्कुमे-चिलिमे, बैठके, चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने र तलकोले ताली बजाउने अनि माननीय सांसद्हरूले संसद्मा आएर बाल कविता सुनाएर बस्ने होइन।’
उनले प्रधानमन्त्री ओलीले भन्ने गरेको विकासमा बहस गर्न निम्तो दिए। उनले भने, ‘ल आउनुस्, तपाईंको एउटा-एउटा मन्त्रालयमा बहस गरौं। कहाँ तीन वर्षमा चमत्कार भएको छ? पानीमा बहस गरौं। सडकमा बहस गरौं। पुलमा बहस गरौं।’
प्रधानमन्त्री ओलीलाई ‘बा’का रूपमा आत्मसात् गरेका नेकपा एमालेका सांसद महेश बस्नेतलाई थापाको उक्त आक्रोश चित्त बुझ्ने कुरै भएन। उनले संसद्मा अस्वस्थ बहस हुन थालेको बताए। प्रधानमन्त्री अनुपस्थित रहेको भन्ने कुराको खण्डन गरे र प्रधानमन्त्रीको जबर्जस्ती राजीनामा मागिएको विषयमा चित्त दुखाइ प्रकट गरे।
थापाले बहस गर्नका लागि दिएको चुनौतीमा उनको आक्रोश थियो, ‘कतिपय युवाले ठाडठाडै बहस गर्ने चुनौती दिनुभयो। विगत जाँचिएका असफल नेताहरूका चेलाहरूले प्रधानमन्त्रीको बद्नाम गर्न भूमिका खेलिरहेका छन्।’
सांसद बस्नेतको आक्रोश यतिमै रोकिएन। उनले प्रधानमन्त्री ओली जस्तै शक्तिशाली हुन जितेर आउनुपर्ने अन्यथा त्यसलाई ‘बालहठ’ भनिनेतर्फ इंगित गरे। उनले थापातर्फ लक्षित गर्दै थपे, ‘कांग्रेसलाई जनताले ६३ सिटमा सीमित गरेका छन्। प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने कतिपय साथीहरूलाई भन्न चाहन्छु- यो बोकाको शैलीमा दाइँ हुँदैन, दाइँ गर्न गोरू नै चाहिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।