प्रधानमन्त्रीलाई बाटो र पुलको शिलान्यास गर्न, उद्घाटन गर्न भ्याइ-नभ्याइ छ। उहाँ भनिराख्नुभएको छ- यति धेरै विकास निर्माणको काम कहिल्यै पनि भएको थिएन। यो त चमत्कार भयो। प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेको छ? दुईवटा कारण हुनसक्छ? एउटा कारण, वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा छैन। चरम अल्पज्ञान छ। वा ढाँट्ने बानी लागेको छ। विकृत असत्यभाषी। यी दुइटै अवस्था राष्ट्रका लागि हानिकारक छ, खराब छ।
२०७४ फागुन ३ गते प्रधानमन्त्री बन्नुभयो। चैत २ गते खानेपानीमन्त्री आउनुभयो। चैत २९ गते अर्थात् ५७ दिनपछि मेलम्चीको टनेल सुरुङ छिचोलेर, सकिएर उपराष्ट्रपतिले उद्घाटन गरेर, रिबन काटेर लड्डु बाँड्नुभयो र प्रधानमन्त्रीले रोस्टममा उभिएर भन्नुभयो- २०७५ सालको असोजसम्म मेलम्चीको पानी आउँछ। त्यसपछाडि पनि साढे दुई वर्ष लाग्यो। किन? किनकि, प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन। ठेकेदारसँग मोलमोलाइ मिलेन। साढे दुई वर्ष लाग्यो, डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भयो। ५७ दिनमा चमत्कार भएको थिएन। पहिल्यैदेखि काम भएको थियो। नाै महिना त आयोजनाको कामको सिन्कोसमेत भाँचिएन। अहिले यत्रो फूर्ति?
२०४४ सालमा मेलम्चीको आयोजनाको परिकल्पना गरिएको कुरा छाडिदिऔं। २०५५ सालमा मेलम्चीको विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो। ७/८ वर्षमा सम्पन्न हुने आयोजना २३ वर्ष लाग्दै गर्दा हामी सबै सरकारमा बस्यौं। हामी पनि बस्यौं। ७/८ वर्षको आयोजना २३ वर्ष लाग्दा र जनतालाई अर्बौं रुपैयाँ बढी भार पार्दै गर्दा माफ माग्नुपर्ने होइन? श्रेय लिने अहिले होडबाजी?
यो बेलामा काठमाडौंवासीको बीचमा उभिएर ७/८ वर्षमा सक्नुपर्ने आयोजना, २०६१/६२ वर्षमा सकिनुपर्ने आयोजना आज सकिँदै गर्दा हामीले गल्ती गर्यौं। काठमाडौंवासीलाई पानी खुवाउन ढिलो गर्यौं। यो आयोजनाबाट धेरै कुरा सिकेका छौं। अब यस्तो गर्दैनौं भन्नुपर्ने, सिक्नुपर्ने बेलामा कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ। तमासा गरेको छ। चमत्कार भयो भनेको छ।
२०६७ सालमा सुरु भएको अपर तामाकोशी २०७३ सालमा सक्नुपर्ने। २०७१ सालको चैतसम्ममा ८० प्रतिशत काम सकिएको थियो। भूकम्पको कारणले गर्दा पछाडि हट्यो। नाकाबन्दीले केही प्रभावित गर्यो। २०७५/७६ मा सकिनुपर्ने। अब आउने वैशाखतिर पहिलो युनिट सुरु हुँदै छ। अब हेर्नुहोला, हामी हेर्छौं, ठ्याक्कै मेलम्चीको जस्तो तमासा तामाकोशीमा देखाइनेवाला छ। गज्जबै भयो। चमत्कारै भयो। प्रधानमन्त्री त कस्तो कस्तो? बिजुली बालिदिनुभयो। पानी छारिदिनुभयो। अब कविताहरु हामीले सुन्न पाउनेवाला छौं।
यहाँ कोही फास्ट-ट्र्याकको कुरा गर्नेवाला छैन। बुढीगण्डकी र पश्चिम सेतीको कुरा गर्दैन। कर्णाली र कोशी कोरिडरको कुरा कोही गर्दैन। बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनाहरु वर्षौंदेखि थला परेको छ। कोही भन्दैन।
हाम्रो आयोजनाहरु वर्षौंदेखि थला परेका छन्। किनभने, यसका केही संस्थागत आधारभूत समस्याहरु छन्। मोडालिटीमा छ, स्रोतमा छ, समन्वयमा छ, कानुनमा छ, शैलीमा छ। यसलाई बदल्नुपर्छ। यसलाई बदलौं। प्रधानमन्त्री, नेतृत्वबाट हामीले अपेक्षा गर्ने त यसलाई बलल्ने हो नि। यसलाई बदलेपछि परिणाम बदलिन्छ नि। नयाँ कुरा आउँछ नि। गर्नुपर्ने काम गरेको छैन। मिथ्यांक ल्याएको छ। अनि गफ चुटेको छ। बसेको छ। यो भयो भनेको छ। त्यो भयो भनेको छ।
हुँदा-हुँदा, निर्माणसमेत सकिएर दुई वर्षअघि सुरु भएको पुलको उद्घाटन गरेको छ। चालु भएको दुई वर्ष भइसक्यो, सिन्धुलीको पुल। राप्तीको पुल। हुँदा-हुँदा ठेक्का लागेको छैन, सुनकोशी-मरिन डाइभर्सनको, शिलान्यास गरेको छ। बीच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ। उद्घाटन सुरु भएर, काम सुरु भएर प्रयोगमा आएको दुई वर्षपछि बल्ल आएर त्यसको उद्घाटन गरेको छ। शिलान्यास गरेको छ। सबस्टेसन चालु भएको कहिले? अस्ति गएर बटम थिचेको छ। यो केको तमासा हो?
अब अस्ति भर्खर १६५ वटा बटम ट्याक्क थिचेर सडक उद्घाटन। कति सजिलो छ। पैसा तीन अर्ब छ। लाग्छ ५७ अर्ब। डिजाइन छैन। पैसा छैन। डिजाइन पनि नचाहिने, पैसा पनि नचाहिने। वर्षको जम्मा ८/९ सय किलोमिटर बनाउने सडक विभागले अब २२/२३ सय किलोमिटर सडक थप्नका निम्ति संस्थागत क्षमता कहाँ बढाउने? यसको हिसाबकिताब केही पनि गर्नु नपर्ने। त्यसो भए किन १६५ वटा मात्रै? एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोकिदिऔं। प्रधानमन्त्री जत्तिको, यत्तिको बहादुर भएको बेलामा एकै पटक १६५० वटा ठोकिदिए भइहाल्यो नि।
प्रधानमन्त्री भइआएको छ। १० किलोमिटर बाटो दिनको पिच भएको भनेको छ। क्याल्कुलेटर ल्याएर हिसाब गरौं न। दिनको तीन किलोमिटर भएको छैन। दिनको छ किलोमिटर विस्तार भएको छैन। दिनमा १२/१३ वटा पुल बन्यो भनेको छ। पहिले कतिवटा बन्थ्यो? कहिलेबाट सुरु भयो? हिसाब गरौं न।
हाम्रो पूर्वाधार निर्माणमा समस्या छ। म अहिलेको सरकारले मात्रै गरेन भन्दिनँ। माननीय मन्त्रीजीले कोसिस गरिराख्नुभएको छ। त्यो पनि मान्छु। तर, भइरहेको छैन। किनभने, हाम्रा केही आधारभूत समस्याहरु छन्। नियममा छ, कानुनमा समस्या छ। हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या छ। काम गर्ने निर्माण व्यवसायीको क्षमतामा समस्या छ। स्रोतमा छ, समन्वयमा छ। यी तमाम समस्यालाई समाधान गर्यो भने मात्रै हाम्रो अवस्था बदलिन्छ।
तपाईंलाई यो संसद्मा एउटा सांसद् निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौं।
यो अवस्था बदल्नका निम्ति यही संसद्ले दर्जनौं कानुन बनाउनुपर्ने छ। दर्जनौं कानुन बदल्नुपर्ने छ। बजेटका बेला ध्यान दिएर छलफल गर्नुपर्ने छ। खल्तीबाट आयोजना छान्ने कुरालाई बदल्नुपर्ने छ। नेताले आयोजना छान्ने, कर्मचारीले विकास गर्ने, निर्माण व्यवसायीले गरिदिन्छ भनेर बस्ने तरिकालाई बदल्नुपर्ने छ। यसमा काम गरौं न। प्रधानमन्त्रीलाई रुचि छ, यसमा काम गर्नका लागि? हामी काम गर्न तयार छौं।
होइन भने, जुन काम वर्षौंदेखि जुन तरिकाले गरिरहेका छौं। त्यही काम त्यही तरिकाले गर्यो भने फरक परिणाम आउँदैन। मैले यहाँ आज उभिएर कुनै कुण्ठा पोखेको होइन। म नेपाल सरकारले प्रस्तुत गरेको पुस्तक हो। म यो पुस्तकमा टेकेर बहस गर्न तयार छु। प्रधानमन्त्रीज्यू, तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु। चुनौती दिन चाहन्छु।
होइन भने, तपाईं बाहिरको सभा र सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्कुमे-चिलिमे बैठके चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने र तलकोले ताली बजाउने अनि माननीय सांसद्हरुले संसद्मा आएर बालकविता सुनाएर बस्ने होइन। म-हामी तपाईंसँग बहस गर्न तयार छौं। तपाईंले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर। ल आउनुस्, तपाईंको एउटा एउटा मन्त्रालयमा बहस गरौं। कहाँ तीन वर्षमा चमत्कार भएको छ? पानीमा बहस गरौं। सडकमा बहस गरौं। पुलमा बहस गरौं। राष्ट्रिय आयोजनाको एउटा-एउटा कुरामा बहस गरौं। तथ्य र तथ्यांकमा टेकेर बहस गरौं।
प्रधानमन्त्रीज्यू, नेपालको इतिहासमा सबैभन्दा अवसर पाउनुभएको अवस्थामा काम कति भयो, कसरी भयो भन्ने कुरामा बहस गर्न तपाईंलाई यो संसद्मा एउटा सांसद् निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौं। शिलान्यास र उद्घाटन नै गर्ने रहर हो भने उद्घाटन सुरु भइसकेका पुलहरु सकिए पछाडि बालुवाटारका परिसरभित्र थुप्रै जग्गा खाली छ। त्यहीँभित्र प्रत्येक दिन एउटा नयाँ भवनको शिलान्यास गर्नुहोला। बनेको कोठाको फेरि उद्घाटन गर्नुहोला।
(नेपाली कांग्रेसका नेता थापाले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा राखेको धारणाको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।