काठमाडौं– आईसीसी विश्वकप लिग २ का लागि नेपाल आएको अमेरिकाले अभ्यास खेलमा नेपाल ‘ए’ टिमसँग पराजित भएको छ ।
पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले हराएको नेपाली ए टिमले आज अमेरिकालाई ५ बल बाँकी रहँदै लक्ष्य पूरा गरी ३ विकेटको जित निकाल्यो ।
पहिले ब्याटिङ गर्दै अमेरिकाले दिएको २६३ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४९ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि पाँचौं नम्बरमा आएका मयान यादवले अर्धशतकीय इनिङ्स खेले । स्कटल्यान्डविरुद्ध ४५ रनको ओपनिङ गरेका उनले आज अमेरिकाविरुद्ध ७२ रनको महत्वपूर्ण पारी खेले । कुशल मल्ल र मयान यादवले ९५ रनको साझेदारी गरेका थिए ।
यस्तै सन्दीप जोराले ३६, कुशल मल्लले ३३, कप्तान अनिलकुमार साहले २७, तृतराज दासले २३, बसिर अहमदले १८, देव खनालले १७, पवन सर्राफले अविजित २४ र दीपकप्रसाद डुम्रे २ रनमा अविजित रहे ।
बलिङमा अमेरिकाका लागि मिलिन्द कुमारले २ विकेट लिए । यस्तै सञ्जय कृष्णमुर्ती, हरमीत सिंह, रुशी उगरकर, सौरभ नेत्रभलकर र नोस्तुज केन्जीले १/१ विकेट लिए ।
त्यसअघि अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका लागि स्मिथ पटेलले शतकीय पारी खेलेका थिए । उनले मात्र १०८ बलमा ११६ रन बनाएका थिए । जसदीप सिंहले अविजित ३३, हरमीत सिंहले पनि अविजित २३ रन बनाउँदा मोनांक पटेलले २० रन जोडेका थिए ।
नेपाली ए टिमले भोलि अर्को अभ्यास खेल स्कटल्यान्डसँग खेल्नेछ । अन्तिम अभ्यास खेल अमेरिकासँग ११ तारिखमा हुनेछ । १२ तारिखदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकप लिग २ का खेलहरु अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।