काठमाडाैं- बलिउडमा तहल्का मच्चाएको वायोपिक फिल्म ‘एमएस धोनी’ फिल्मका निर्देशक निरज पाण्डेले नेपाली फिल्म बनाउने भएका छन्। निरजले बलिउडका ट्वाइलेट एक प्रेमकथा, रुस्तम जस्ता फिल्म निर्माण गरिसकेका छन्।
नेपालका निर्माता सरोज न्यौपानेसँग मिलेर निरजले नेपाली फिल्म बनाउन लागेका हुन्। निरजको प्रोडक्सन कम्पनी फ्राइडे फिल्म वर्कस र सरोजको अनन्य फिल्मसबीच फिल्म बनाउने विषयमा सम्झौतासमेत भइसकेको छ।
फिल्म निर्माण गर्ने बताइए पनि नाम भने सार्वजनिक गरिएको छैन। फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने छन्।
कलाकार छनोटका लागि अडिसनमा जाने तयारी पनि निर्माण टोलीले सुरु गरिसकेको छ।
फिल्मको कथा तथा स्क्रिन-प्ले निरजकै रहने छ। फिल्म नेपाली भाषामा बने पनि यसको हिन्दीमा रिमेकसमेत गरिने बताइएको छ।
केही दिनमै निरजको उपस्थितिमा फिल्मको औपचारिक घोषणा गरिने बताइएको छ। फिल्मको सम्पूर्ण टिम नेपालकै रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।