काठमाडौं- निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन्।
सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए। भक्तपुरको सूर्यविनायकमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते। सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन्।
आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ। अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्।
६ जना खेलाडीले नै १३ औं सागमा पनि पदक जितेका थिए। मंगलबाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए। मंगलले भने रजत जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।