काठमाडौं- नेकपा (एमाले)की नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली विचारशून्य भएको बताएकी छिन्। आइतबार समानान्तर काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा शाक्यले संगठन बनाएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरिन्।
'केपी ओली कहिले पनि विचारको छलफल नगर्ने नेतृत्व हो। जसले पार्टीलाई धुजाधुजा बनाए। छिन्नभिन्न बनाए। आसेपासे राखेर पार्टीलाई विचारशून्य बनाए। त्यसैले विचार नभइकन, वैचारिक र सांगठनिक रूपमा स्पष्ट नभइकन, पार्टीको कार्यदिशा स्पष्ट नपारीकन हामीले लड्न सक्दैनौं। जित्न सक्दैनौं', उनले भनिन्, 'त्यसैले केपी ओलीसँग जित्न सजिलो छ। जब हामी वैचारिक युद्ध गर्छौं। विधि सम्मत हुन्छौं। र, सबै ढंगले हामीले आफूलाई सक्षम बनाउँछौं। तब हामी जित्न सक्छौं। जित्छौं। केपी ओली विचारशून्य मान्छे हो।'
ओलीले कहिल्यै पनि वैचारिक कुरा गर्न नसकेको शाक्यले बताइन्। 'कहिले पनि विचारको प्रस्तुति गर्न सक्नुभएन। उहाँले 'एस् म्यान'हरु राखेर पार्टीलाई कमजोर बनाउनुभयो। अन्योल गर्ने काम गरे। दिशाभ्रष्ट गर्ने काम गरे। उद्देश्यलाई अलमल्याउने काम गरे', उनले भनिन्।
केपी ओलीले उचाइमा पुगिसकेको कम्युनिस्ट आन्दोलनको झन्डालाई तल झार्ने काम गरेको भन्दै शाक्यले आफूहरूले झार्न नदिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।