काठमाडाैं- सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी पैठारी, भण्डारण, ओसारपसार तथा बिक्री-वितरणमा कडाइ गर्ने तयारी गरेको छ।
एसिड आक्रमणको घटनालाई रोक्न गृह मन्त्रालयले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा चैत १६ गते स्वीकृत भएको नियमावलीअनुसार यस्ता पदार्थ आवश्यक हुने उद्योगहरुलाई अनिवार्य रुपमा सूचीकृत हुन सूचना जारी गरेको छ।
मन्त्रालयले औद्योगिक प्रयोजनका लागि आ-आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के-कति परिमाणमा के-कस्तो रसायन आवश्यक पर्दछ सोको स्पष्ट विवरण सात दिनभित्र पेस गर्न भनेको छ। अध्यादेश र नियमावलीअनुसार औद्योगिक क्षेत्रको खास प्रयोजनका लागि यस्ता तेजावलगायत अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अनुमति दिने व्यवस्था गरिएको छ।
अध्यादेशको दफा १४ मा यस्ता रासायनिक आयातलगायत कार्यका लागि पूर्वस्वीकृतिका लागि मन्त्रालयमा निश्चित ढाँचामा निवेदन दिनुपर्ने उल्लेख भएकाले मन्त्रालयले सूचना जारी गर्दै एक साताभित्र यसको सूची पेस गर्न भनेको छ। मन्त्रालयले यस्ता आवश्यक पर्ने उद्योगको नाम, रासायनिकको पदार्थको नाम, संकेत, आवश्यक वार्षिक परिमाणसमेत खुलाएर निवेदन दिन भनेको छ।
उद्योगले पेस गरेको विवरणको आधारमा वार्षिकरुपमा आवश्यक पर्ने यस्ता पदार्थहरुको आयातदेखि बिक्री वितरणसम्मका लागि अनुमति पाउने छन्। अनुमति नलिएका वा सूचीकृत नभएका उद्योगहरुले यस्ता रासायनिक पदार्थको आयात र प्रयोग गरेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।