काठमाडौं- पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस कलबले जित निकालेका छन्। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा एपीएफले ढोरपाटन र पुलिसले भरतपुर मेट्रोलाई पराजित गरेका हुन्।
एपीएफले ढोरपाटन स्पोर्टस् क्लबविरुद्ध ३-० को सहज जित निकालेको हो। एपीएफले ढोरपाटनलाई २५-३, २५-९ र २५-५ ले पराजित गर्दै ३ अंक जोडेको हो। त्यस्तै, पुलिसले भरतपुर मेट्रो खेलकुदमाथि ३-० को सोझो सेटमा जित निकालेको हो। पुलिसले भरतपुरलाई २५-४, २५-८, २५-१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो।
दोसो दिन न्यू डाइमण्ड आफ्नै क्लबकी पूर्वखेलाडी कृपा अधिकारीको कप्तानीमा कोर्टमा उत्रिएको आर्मीसँग २५-१७, २०-२५, २५-२३, १५-२५ र १५-१२ ले पराजित भयाे। योसँगै जित निकालेको आर्मीले २ अंक जोड्दा न्यू डाइमण्डले १ अंक पाएको छ।
पुरुषतर्फको प्रतिस्पर्धामा भने एपीएफ र हेल्प नेपाल स्पोर्ट्स क्लबले जित निकालेका छन्। एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्न सफल भयो। एपीएफले मणिमुकुन्दलाई २५-१९, २५-२२ र २५-२० ले पराजित गर्न सफल भयो।
हेल्प नेपाल स्पोर्टस् क्लबले जित हात पार्ने क्रममा नयाँबजार सामाजिक युवा क्लबलाई ३-१ को सेटमा हराएको हो। हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबलाई २५-१४, २३-२५, २५-२२ र २५-१६ ले पराजित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।