काठमाडाैं- भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु भएको छ। जिल्लाको रोशी गाउँपालिकास्थित हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित सिद्धेश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि शुक्रबार भूमि पूजा गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव श्रीमती सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा दुवै विद्यालयको पुनर्निर्माण सुरु गरिएको हो।
हरिसिद्धि मावि दुई करोड ८४ लाख र सिद्धेश्वर मावि तीन करोड ९६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको जानकारी दिइएको छ। नेपाल सरकारले निर्धारण गरेको भूकम्पप्रतिरोधी मापदण्डअनुरुप यी विद्यालयहरुको निर्माण गरिनेछ। हरिसिद्धि माविको तीन तल्ले नयाँ संरचनामा नाै वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीहरुका लागि छुट्टा-छुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ। त्यस्तै, सिद्धेश्वर माविको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टा-छुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ।


यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रुपमा परिचित छ।
२०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब पाँच अर्ब आठ करोड रुपैयाँ) आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आज उद्घाटन गरिएका दुई विद्यालयसँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये आठ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।