काठमाडाैं- काेराेना महामारीका कारण नेपालका फिल्म हल चलायमान नभएकाे एक वर्षभन्दा धेरै भयाे। काेराेनाविरुद्धकाे खाेपकाे सफल परीक्षणपश्चात बिस्तारै निर्माताले फिल्म घोषणा गर्न थालेका थिए। तर, पुन: धमाधम पछि हटिरहेका छन्।
नयाँ वर्षको अवसर पारेर तीनवटा फिल्महरुले एकैदिन प्रदर्शन मिति घाेषणा गरेका थिए। पुष्प खड्काको दुई फिल्म एकैचोटी जुध्नेवाला थियो। तर, अहिले सबै फिल्मका निर्माता लाखापाखा भएका छन्।
काेराेनाकाे कारण देखाउदै चैत २७ लाई प्रर्दशन मिति घोषणा गरेको फिल्म कृष्ण लिला पछि सरेको छ। निर्माण टोलीले कृष्ण लिलाको प्रर्दशन मिति केही समयका लागि रोकिएको जानकारी दिएका छन्।
काेराेनाकाे असर पुन: बढ्दै गएकाले कृष्ण लिला चैत २७ मा प्रर्दशन नहुने फिल्मका निर्माता रोहित कट्टेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। स्थिति सामान्य भएपछि मात्रै नयाँ मिति तोकिने बताइएकाे छ।
दिपक ओलीले निर्देशन गरेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ लगायतका कलाकारकाे अभिनय छ। कृष्ण लिलासँगै लप्पन छप्पन २ र मनसँग मन फिल्मले पनि चैत २७ गते फिल्म प्रर्दशन नगर्ने बताएका छन्।
सबैले चैत २७ गतेबाट प्रर्दशन मिति सारेपनि फिल्म गुड फ्राइडे भने प्रर्दशनका लागि कस्सिएको छ। राजबहादुर सानेले निर्देशन गरेको फिल्ममा मुकेश ढकाल, सविना कार्की लगायतका कलाकारकाे मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।