काठमाडौं- एसियाली ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ। शुक्रबार किर्गिस्थानको बिस्केक प्रस्थान गर्ने नेपाली जुडो टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बिदाइ गरेका हुन्।
अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन्। महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।
चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। देविका र पुनमले १३ औं सागका स्वर्ण विजेता हुन्। इन्द्रले रजत तथा सोनियाले कास्य जितेका थिए।
ओलम्पिक र्याङकिङका रुपमा रहेको प्रतियोगितामा ३१ राष्ट्रका १२३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ।
टोली प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान रहेका छन्। जुडो संघका महासचिवसमेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्ने छन्। स्पोर्ट्स डाइरेक्टर सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै किर्गिस्थान जाँदैछन्।
अप्रिल ३ मा हुने जुडो युनियन अफ एसिया (जेयुए) को कार्यकारी समितिको बैठक र जेयुए जोन बैठक तथा अप्रिल ४ मा हुने जेयुए कंग्रेसमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य बिस्केक पुगिसकेका छन्। महासचिव श्रेष्ठ पनि जेयुए जोन बैठकमा सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।