काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एकेडेमीको औपचारिक सुरुवात गरेको छ। काठमाडौंमा बुधबार विशेष समारोहको आयोजना गरी मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो।
मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यले एकेडेमीको औपचारिक सुरुवात गरिएको जनाएको छ।
मञ्चले पत्रकारको व्यवसायीक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनिक गरेको हो। तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने मञ्चको योजना छ।
एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले खेल पत्रकारको व्यवसायीक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए। उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे।
‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोग विना एकेडेमीको काम अघि बढाउन कठिन छ। एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ’, उनले भने।
युवा तथा खेलकुदमन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे। उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए। ‘मन्त्रालयले सधैं सहयोग गर्नेछ। यो एकेडेमीले संख्यात्मक र गुणात्मक सफलता पाउँदै जाओस्। यो एकेडेमीले नेपाली खेलकुदको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षतासमेत अभिवृद्धि गर्नुपर्ने बताए।
राखेप सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्यसचिव सिलवालले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए।
त्यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा आफूहरु सहयोग गर्न तयार रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।