प्रतिकात्मक तस्बिर।
काठमाडौं- होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको बागलुङ घटनामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी कृष्णबहादुर पल्लीमगरले ५ जना पक्राउ गरिएको पुष्टि गरे। एसपी पल्लीमगरले नेपाल लाइभसँग भने, ‘सोधपुछका लागि ५ जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानमै क्रममा रहेकाले उनीहरुको संलग्नता छ/छैन भन्न सक्ने अवस्था छैन।’
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरूको परिचय प्रहरीले खुलाएको छैन। होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो।
बागलुङको बडिगाड गाउँपालिका-१० बल्देधुरीमा आइतबार निसिखोला गाउँपालिका-७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको शव भेटिएको थियो। गोरेटो बाटो भन्दा करिब ५ सय मिटर मुन्तिर उनीहरुको शव भेटिएको थियो।
घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले घटनाको कारण भने एक समूहकी युवतीलाई अर्को समूहका युवकले जबरजस्ती रङ दल्दा निस्किएको परिणमाको रुपमा औंल्याएको छ।
बडिगाड गाउँपालिका-१० का युवाहरू होली खेल्न बल्देधुरी पुगेका थिए। उक्त ठाउँमा निसिखोला गाउँपालिक–७ का युवाहरू पनि पुगेका थिए। बल्देधुरीमा पहिल्यै बडिगाड-१० का केही युवा र युवतीहरू होली खेलिरहेको र उक्त ठाउँमा गएर निसिखोलाका युवाहरूले युवतीलाई जबरजस्ती रङ दलेपछि झडप भएपछि दुई जनाको ज्यान गएको थियो।
सम्बन्धित समाचार :
बागलुङमा दुई जनाको शव भेटियो, झडपपछि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान
बागलुङ घटना : युवतीलाई रङ दलेको निहुँले निम्त्याएको दुर्घटना, संदिग्धको खोजी सुरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।