काठमाडाैं- स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुको बास्केटबल प्रतियोगिताको उपाधि जावलाखेलले जितेको छ। उसले नेपाली आर्मीलाई १५-१४ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले गरेको प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ चार टोली सहभागी भएका थिए। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा जावलाखेलले प्रथम हुँदै १५ हजार रुपैयाँ प्राप्त गरेको छ।
यसअघि युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले प्रतियोगिताको उद्घाटन गर्दै अपाङ्गता भएका व्यक्तिहरुले पनि खेलकुदमा भाग लिन सक्छन् भनी देखाएको हिम्मतको प्रशंसा गरे। 'हामी पनि सक्षम छौं र खेल्न सक्छौं' भनी उनीहरुले देखाएको साहस साँच्चै प्रेरणादायी भएको भन्दै उनले आगामी दिनमा पनि यस्ता खेलकुदका गतिविधि निरन्तर जारी राख्न आग्रह गरे।
प्रतियोगिताको समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र अपाङ्ग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले सम्बोधन गर्दै खेलाडीहरुको हौसला बढाएका थिए।
महिलातर्फको उपाधि महिला ह्विलचेयर बास्केटबल एसोसिएसनले जितेको थियो।

उपाधि वितेता जावलाखेलले १५ हजार, उपविजेता आर्मीले १० हजार रुपैयाँ र तेस्रो बनेको नेपाल स्पाइनल कर्ड इन्जुरीले पाँच हजार रुपैयाँ पुरस्कार पाएका थिए। संघले हरेक वर्ष यो प्रतियोगिता गर्दै आएको छ। अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला र प्रोत्साहन दिने उद्देश्यले संस्थाले यस्ता खेलकुदका कार्यक्रम गर्दै आएकोमा सधैँ सहयोग गर्न नगरपालिका तयार रहेको मेयर चालिसेले बताए। शारीरिक रुपमा कमजोर भएको भनी समाजमा हेपिएर बस्न नहुने भन्दै उनले नगरले यस्ता व्यक्तिहरुका लागि सहयोग गर्ने वचन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।