काठमाडौं– नेपाल र बंगलादेशले ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबार भएको लिग चरणका अन्तिम खेलमा बंगलादेशसँग नेपालले गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो।
बंगलादेश भने यसअघि नै फाइनलमा पुगेको थियो। योसँगै कीर्गिस्तान भने लिग चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग १-० गोलले हारेको कीर्गिस्तानले नेपालसँग भने गोलरहित बराबरी खेलेको थियो।
दशरथ रंगशालामा बंगलादेशविरुद्धको भएको खेलमा नेपालले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको हो।
खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टले राम्रो ठाउँमा गोल गर्ने अवसर पाएका थिए। तर, उनले गरेको हेड पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।
खेलको २४ औं मिनेटमा त्रिदेवले गोल गर्ने अवसर पाएपनि उनको प्रहार गोलपोस्टभन्दा निकै परबाट बाहिरियो। खेलको ४० औं मिनेटमा जमल हुयाले प्रहार गरेको फ्रिकिक नेपालको गोलपोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो।
५५ औं मिनेटमा रवि पासवानको स्थानमा सुनिल बल र सन्जोक राईको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे। खेलको ६५ औं मिनेट रन्जित धिमालको क्रस पासमा अभिषेक रिजालले गोल गर्ने राम्रो अवसर पाए। तर, उनको हेड पोस्ट नजिकैबाट बाहिरियो।
खेलको ७१ औं मिनेटमा अभिषेक रिजालको स्थानमा दर्शन गुरुङ र रन्जित धिमालको स्थानमा निशान खड्कालाई मैदानमा प्रवेश गराएको थियो। योसँगै राष्ट्रिय टिमबाट निशानले डेब्यु गरे। खेलको ८७ औं मिनेटमा अन्जन विष्टको स्थानमा एरिक विष्टलाई मैदानमा प्रवेश गराएपनि नेपालले गोल गर्न सकेन।
फाइनल खेल १६ गते सोमबार दशरथ रंगशालामा हुनेछ। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।