काठमाडौं- आयोजक नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिदेशीय सिरिज क्रिकेट प्रतियोगिता हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै त्रिवि क्रिकेट मैदानमा ‘बजाज पल्सर त्रिदेशीय सिरिज’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।
त्रिदेशीय सिरिज त्रिवि क्रिकेट मैदानमा बैशाख ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। सिरिज डबल राउण्ड रोविनमा सञ्चालन हुनेछ। अर्थात् एक देशले अर्को देशसँग दुई खेल खेल्नेछ। शीर्ष दुई देश फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। कोरोनाको उच्च सतकर्ता अपनाउँदै प्रतियोगिता आयोजना गरिने क्यानले जानकारी दिएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले छोटो समयमा नै त्रिदेशीय क्रिकेट खेल्न तयार भएकोमा नेदरल्यान्ड्स क्रिकेट र मलेसिया क्रिकेटलाई धन्यवाद दिएका छन्। ‘म नेदरल्यान्ड्स र मलेसिया क्रिकेटलाई धन्यवाद दिन चाहन्छु। छोटो अवधिमा नै हामीले गरेको प्रस्तावलाई स्वीकार्दै सिरिज खेल्न तयार भएको छ। यसले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फेरि फर्किएको सन्देश दिनेछ’, अध्यक्ष चन्दले भने।
लामो समयदेखि कुनै पनि क्रिकेट प्रतियोगिता खेल्न नपाई रहेको अवस्थामा त्रिदेशीय सिरिजले उत्साह पैदा गरेको नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक रियान क्याम्बेलले बताएका छन्। उनले भनेका छन्, ‘२०१९ को नोभेम्बरपछि हामीले कुनै पनि प्रतियोगिता खेल्न पाएका छैनौं। नेपालमा हुने त्रिदेशीय सिरिज खेल्न पाउने हुँदा म धेरै उत्साहित छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।