काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ।
शुक्रबार कलंकीस्थित मेघा पार्टी प्यालेसमा बसेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्ने निर्णय गरेको नेता रघुजी पन्तले बताए।
उनका अनुसार नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुनेछ। ओलीले दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छन्। बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने निर्णय भएको उनले जानकारी दिए। ‘संसदीय दलको बैठकमा भाग लिने निर्णय भयो,’ नेता पन्तले भने, ‘पार्टीमा हामी संघर्ष गर्छाैं।’
यसैबीच, नेपाल समूहका नेता भीम रावलले भने आफू संसदीय दलको बैठकमा नजाने बताएका छन्। नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकबाट बाहिर निस्किने क्रममा उनले उक्त जानकारी दिएका हुन्।
पार्टीले संसदीय दलको बैठकमा भाग लिने निर्णय गर्यो, तपाईं जानुहुन्छ भनी सोधिएको प्रश्नमा रावलले 'म जान्न' भने। उनले यसबारे थप प्रतिक्रिया दिन मानेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।