काठमाडाैं- कोभिड-१९ संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच शुक्रबार भएको छलफलमा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताए। सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमणदर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्वसावधानी अपनाउनेसम्बन्धमा छलफल भएको बताए। सार्वजनिक यातायात क्षेत्रलाई कसरी जोखिमबाट बचाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।
कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ। शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।