काठमाडौं- दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पनि प्रतिस्पर्धा गर्ने भएको छ। दुबईको सहवाब अल अली दुबई क्लबमा हुने तेस्रो फज्जा दुबई पारा ब्याडमिन्टन इन्टरनेसनलमा नेपालका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्ने भएका हुन्।
च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली खेलाडी प्रकाशलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ। पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले बिदाइ गर्दै खेलाडीहरु अबका दिनमा व्यावसायिकतातर्फ अग्रसर हुनुपर्ने बताए।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नेपाली खेलाडीले विभिन्न विधामध्ये अहिले एसएल ४ को विधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परीक्षण पश्चात कुन विधामा सहभागिता जनाउन पाउने भन्ने निर्क्योल हुने बताए।
बिदाइ कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नवीनविक्रम शाह र समिरबहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापालगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।